११ कार्तिक २०८३, बुधबार

अध्यागमनका डिजीले कसरी कमाए यति धेरै ? गृहमन्त्री निधिसँग सिधै कनेक्सन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kedar-neupane-aकाठमाडौं, ६ असोज । अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेको आजकाल अलि बेग्लै हाउभाउ हुन थालेको छ ।

विभागको डेढ वर्षका बसाइका क्रममा रातारात करोडौं कमाइ गरिसकेका महानिर्देशक न्यौपानेले अनामनगरमा साढे चार तले आलिसान महल ठड्याएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

पदीय हिसावले सहसचिवस्तरको कर्मचारी न्यौपानेले रातारात यति धेरै सम्पत्ति कसरी कमाइ गरे भनेर विभागका कर्मचारीहरूले जिब्रो टोक्न थालेका छन् । स्रोतका अनुसार महानिर्देशक न्यौपानेले राजधानी उपत्यकाभित्र झण्डै वीस रोपनी जग्गा खरिद गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको भनेर छानविन गर्ने डरले न्यौपानेले सम्पत्ति सबै आफन्तको नाममा राखेको स्रोतले जनाएको छ । महानिर्देशक न्यौपानेले आफ्नो नाममा थोरै पनि सम्पत्ति राखेका छैनन् ।

उनको यो सम्पत्तिका विषयमा अख्तियारले अहिलेसम्म आँखा लगाएको छैन । विभागका केही कर्मचारीहरूले महानिर्देशक न्यौपानेको गलत क्रियाकलाप र विदेश जान हिँडेका महिला र मजदुर तथा विदेशी नागरिकसँग लिने अबैध रकमका विरुद्ध उजुरी दिने तयारी गरेका छन् ।

काठमाडौं, मोरङ र सुनसरी जिल्लामा झण्डै १२ वर्ष स्थानीय विकास अधिकारी भएर करोडौं कमाइ गरिसकेका न्यौपानेले अहिले विभागलाई बद्नाम गराउन सक्रिय छन् ।

उनले खाडी मुलुकमा जाने महिला कामदारहरूसँग दुई लाख रुपियाँसम्म लिएर अध्यागमनबाट छाड्ने गरेको खुलासा भएको छ । उनले सानो कागज नमिलेमा रोजगारीका लागि जान हिंडेका युवाहरूसँग पनि पचास हजारसम्म लिने गरेको स्रोतको भनाइ छ ।

न्यौपाने विभागमा महानिर्देशक भएर २०७१ साल चैतमा आएका हुन् । त्यसपछि उनीमाथि सेवाग्राहीसँग अबैध रुपमा पैसा उठाएर हैरान बनाएको आरोप छ ।

महानिर्देशक न्यौपानेले अहिले आफू कांग्रेस निकट रहेको र उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग राम्रो कनेन्सन मिलाएको भन्दै गृह मन्त्रालय र विभागमा आतंक फैलाएका छन् ।

‘अध्यागमन विभागमा संकलन भएको पैसा गृहमन्त्री विमलेन्द्र निधिदेखि गृहसचिव र अख्तियारसम्म सेटिङ मिलाउन पठाउनु पर्छ । आजकाल गृहमन्त्रीलाई अलि धेरै पैसा बुझाउनु पर्छ’, एक कर्मचारीले भने–‘न्यौपानेको गृह मन्त्रीसँग ठूलै सम्बन्ध बनेको छ । त्यही भएर महानिर्देशक न्यौपानेको सुरुवा पनि हुँदैन । अड्डा जमाएर बस्नु भएको छ ।’

महानिर्देशक न्यौपानेले आफू छिटै सचिवमा बढुवा हुन लागेको बताउने गरेका छन् । ‘म सिनियर सहसचिव हुँ । गृह मन्त्री निधि र प्रधानमन्त्री पुष्पकमल दाहालसँग राम्रो सम्बन्ध छ । छिटै सचिवमा बढुवा हुँदैछु’, उनको भनाइ उदृत गर्दै स्रोतले भन्यो–‘एक पटक गृहसचिव बन्ने ठूलो धोको छ ।’

विभागमा काम परेर आउने वा त्रिभुवन विमानस्थलको अध्यागमन विभागको कार्यालयबाट न्यौपानेले महिला र मजुरहरूसँग सिधै पैसा लिँदैनन् । बाहिर पठाउन भूमिका खेल्ने दलाल र मेनपावर कम्पनीहरूसँग रकम लिने गरेको स्रोतले जनाएको छ । कमाइ हुने रकम उनले गृहमन्त्री, गृह सचिव र अख्तियारसम्म पठाउने गरेको एक कर्मचारीले बताए । उनको कमाइको अर्को स्रोत विभिन्न मुद्दा खेपेर अध्यागमनको हिरासतमा रहेका अभियुक्तहरूसँग पनि मुद्दाको सेटिङ मिलाउने बहानामा ठूलो रकम लिने गरेका छन् ।

अहिले न्यौपाने चीन भ्रमणमा छन् । विभागमा धेरै नबस्ने महानिर्देशक न्यौपानेले विदेशमा हुँदा पनि दैनिक कति पैसा संकलन भयो भनेर शाखाहरूमा फोन गर्ने गर्छन् । अवैध रुपमा संकलन भएको पैसाको न्यौपानेले एकाएक रेकर्ड राखेका छन् । हैसियतभन्दा धेरै धन आर्जन गरेका महानिर्देशक न्यौपानेलाई अख्तियारले कारबाही गर्छ कि गर्दैन भनेर विभागका कर्मचारीहरूले हेरेर बसेका छन् ।