काठमाडौं, ५ असोज । बैठक, छलफलहरूमा सबैलाई उखान र तर्क हालिहाली ठेगान लगाउने केपी ओली अवाक् भए भन्दा पत्याउन मुस्किल पर्छ । तर, एकदिन त्यस्तै भयो, ‘ए त्यसो पो रहेछ ? मलाई त पत्तै थिएन ।’
प्रसंग एमालेले भारत जानु अघिल्लो दिन प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएको क्षणको हो । ओलीले चेतावनीको स्वरमा भने, ‘अरु जे गरे पनि हामीले गरेको राम्रो काम उल्टाउनतिर चाहिँ नलाग्नु होला ।’ जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
प्रधानमन्त्रीको छेउमै बसेका उर्जामन्त्री जनार्दन शर्माले तुरुन्तै प्रतिवाद गरे, ‘कुन राम्रो काम ? ढल्केबरमा स्विच थिचेर बत्ती बालेजस्तै राम्रो काम हो ? इण्डियाबाट १० रुपियाँ प्रतियूनिटमा बिजुली किन्ने अनि यता ८ रुपियाँमा बेचेर प्राधिकरण डुबाउने खालको ? यस्ता ‘राष्ट्रवादी’ निर्णय नउल्टान भन्नुभएको हो ?’ यसरी जनार्दनले अँठ्याएपछि हो ओलीले अनभिज्ञता प्रकट गरेको ।
हुन पनि इञ्जिनियरहरूले कुन स्वार्थमा के भन्छन्, त्यही त गर्ने हो हाम्रा नेताहरूले ! अलिक ढिलो पुगेका माओवादी नेता जनार्दन शर्मा प्रभाकरले दुवै प्रधानमन्त्री भएको ठाउँमा प्रष्ट पारे– एउटा कुरा भन्छु, भूपूज्यूलाई सायद थाहा छैन होला । हामीले तपाईले स्विच थिचेका दिनदेखि भारतलाई मासिक १ अर्ब २० करोड तिर्नुपरेको छ । म अस्ति ढल्केबर पुग्दा यो कुरा थाहा पाएँ । ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन एउटा प्राइभेट कम्पनीले बनाइदिएको हो । उसले हामीसँग त्यसको भाडा असुल्दैछ ।
यति सुन्नु के थियो, अर्का पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधव नेपालले आश्चर्य दर्शाउँदै सो, ‘ए त्यसो हो र ! यससम्बन्धी तपाईसँग केही डकुमेन्ट छ ?’














प्रतिक्रिया