
काठमाडौं, ३ असोज । सिंगल इन्जिन जहाज सञ्चालनमा सेवा प्रदायक कम्पनी र नियामक निकायबाट गम्भीर लापरबाही भएको पाइएको छ ।
१४ फागुन ०७२ मा नेपालगन्जबाट जुम्ला जाने क्रममा कालिकोटको चिलखायामा दुर्घटना भएको काष्ठमण्डप एयरको ‘९एन–एजेबी पिएसी ७५० एक्सएल’ जहाजमा जहाज बन्नुभन्दा १८ वर्ष पुरानो इन्जिन राखिएको र उक्त इन्जिनमा मर्मतकै क्रममा त्रुटि रहेको तथ्य छानबिन आयोगले सार्वजनिक गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हरिबहादुर खड्काका अनुसार दुर्घटनामा परेको जहाज सन् २००९ मा बनेको थियो भने इन्जिन सन् १९९१ मा निर्माण भएको हो ।
आयोगले इन्जिन र स्टार्टर जेनेरेटर प्राविधिक परीक्षणका लागि क्यानडा पठाएको थियो ।
आयोगका अनुसार उक्त त्रुटिबारे सेवा प्रदायक कम्पनी गम्भीर थिएन भने नियामक निकायले त्यसमा कडाइ गर्न असफल देखिएको छ ।
काष्ठमण्डप एयरले अस्टे«लियाको तस्मान एभिएसन इन्टरप्राइज (टिएई) कम्पनीबाट भाडामा लिएको इन्जिन सन् २०१५ डिसेम्बरमा अमेरिकाको एयरफोर्स टर्वाइन सर्भिस (एटिएस)बाट पूरा मर्मत (ओभरहाल) गरिएको आयोगका सदस्य तथा इन्जिनियर रमेशकुमार सिंहले जानकारी दिए ।
इन्जिनको ओभरहाल गर्ने क्रममै भएको त्रुटिले ‘हेन्डलिङ ड्यामेज’ भएको र सोही कारण इन्जिन फेल भएको आयोगको निष्कर्ष छ ।
कम्पनीले इन्जिन भाडामा लिँदा लगबुक राम्रोसँग भेरिफाइ नगरेको र जडानपछि पनि नियमित चेकजाँच हुन नसकेको पाइएको छानबिन आयोगका संयोजक यज्ञप्रसाद गौतमले जानकारी दिए ।
उक्त इन्जिन काष्ठमण्डपभन्दा अगाडि एयर फिजीले चलाइसकेको थियो । फिजीको मल्टिइन्जिन जहाजमा चलाइएको इन्जिन परिवर्तन गरी काष्ठमण्डपको सिंगल इन्जिन जहाजमा राखिएको हो ।
आकाशमै इन्जिन फेल भएपछि पनि पाइलटले जहाजको आकस्मिक अवतरणका लागि निकै प्रयास गरेको आयोगको प्रतिवेदनले देखाएको छ ।
१२ बजेर १६ मिनेटमा नेपालगन्जबाट जुम्लाका लागि उडेको जहाज १२ बजेर ३३ मिनेटमा अन्तिम सम्पर्कमा आएको थियो ।
त्यसपछि हराएको जहाज १२ बजेर ४६ मिनेटमा कालिकोटको चिलखाया गाविसस्थित खाली जग्गामा आकस्मिक अवतरण गरेको थियो ।
आकस्मिक अवतरणको प्रयास दुर्घटनामा परिणत भएपछि दुई पाइलटले ज्यान गुमाए पनि यात्रुलाई भने बचाउन सफल भएका थिए ।
‘पाइलटले आकस्मिक अवतरण गर्न खाली र सजिलो जमिन खोजिरहेका थिए’, छानबिन समितिका सदस्य तथा पाइलट महासेनानी सुवर्ण विष्टले भने, ‘चिलखायाको लोकेसन थाहा भएकै कारण यात्रु जोगिन सफल भएका छन् ।’
जहाजलाई पाइलट दिनेश न्यौपाने र कोपाइलट सन्तोष रानाले उडाएका थिए ।















प्रतिक्रिया