११ कार्तिक २०८३, बुधबार

नरेन्द्र मोदीले ‘प्रचण्ड’लाई यसरी जिल्याइदिए, भारतले फेरि नेपालको संविधान अस्वीकार गर्‍यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-narendra-modi-jiकाठमाडौं, १ असोज । भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ ।

संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तामा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संविधानमा असन्तुष्ट सबै पक्षका आकांक्षा समेट्न आग्रह गरे ।

‘तपार्इं (पुष्पकमल दाहाल) नेपालको शान्तिका एक उत्प्रेरक शक्ति हुनुहुन्छ’, नयाँदिल्लीमा शुक्रबार नेपाल–भारत द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘तपाईको बुद्धिमानी नेतृत्वमा समावेशी संवादमार्फत विविधताले भरिएको नेपाली समाजको सबै पक्षको आकांक्षा समेटी नेपाल संविधान कार्यान्वयन गर्न सफल हुनेमा म विश्वस्त छु ।’

भारतीय प्रधानमन्त्री मोदीले असन्तुष्ट पक्षको माग सम्बोधन गरी नयाँ संविधान कार्यान्वयनमा ल्याउन दाहालले गर्ने प्रत्येक प्रयासको सफलताका लागि शुभकामना पनि दिएका थिए ।

नेपाल–भारत द्विपक्षीय बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल र मोदीले ‘वान अन वान’ वार्ता गरेका थिए । करिब आधा घन्टा भएको एक्लाएक्लै वार्तामा दाहालले भारतीय समकक्षीलाई नेपालको संविधानलाई स्वागत गर्न मनाउने प्रयास गरेका थिए ।

प्रधानमन्त्री दाहाल निकट स्रोतअनुसार मोदीले नयाँ संविधानको स्वागत गर्न अस्वीकार गरेका थिए ।

भेटमा मोदीले स्पष्ट रुपमा संविधानप्रति जो असन्तुष्ट छन्, तिनका माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

उनले असन्तुष्ट पक्षका माग सम्बोधन गरे मात्र संविधान कार्यन्वयन हुने र नेपाल शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने दाहाललाई स्मरण गराएका थिए ।

दाहालले भने संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने प्रक्रिया आफूले सुरु गरिसकेको जानकारी गराएका थिए ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले ‘अहिले तपाईंले चालेको कदम ठिक छ, साथमा छु’, भनेका थिए ।

दाहाल र मोदीबीच ‘वान अन वान’ वार्ता सकिएपछि नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको थियो । बैठकमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका सबै पक्षमा संक्षिप्त छलफल भएको थियो ।

बैठकपछि नेपाल र भारतबीच तीनवटा समझदारीपत्र तथा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा राखेका थिए ।

‘हामी एकअर्काका उपलब्धिमा जसरी खुसियाली मनाउँछौं, अफ्ठेरो समयमा दुःख पनि बाँड्छौँ । हाम्रो सम्बन्ध सदियौंदेखि चलिआएको विशेष छ । नजिकको छिमेकी र घनिष्ट मित्रराष्ट्रका रुपमा नेपालमा शान्ति, स्थिरता र आर्थिक समृद्धि होस् भन्ने हाम्रो चाहना हो’, संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘नेपालको विकास र आर्थिक समृद्धिको प्रत्येक कदममा हामी तपाईंहरुको साझेदार बन्न पाउँदा भाग्यमानी ठान्छौं ।’

लोकतन्त्र संस्थागत गर्न प्रधानमन्त्री दाहालले खेलेको भूमिकाको मोदीले प्रशंसा गरे । दाहालसँगको भेटवार्तालाई उनले उपलब्धिमूलक रहेको बताए ।

मोदीले स्पष्ट पारे, ‘नेपालसँग विकासको क्षेत्रमा सहकार्य गर्न र सहकार्यलाई मजबुत बनाउन भारत तयार छ । हामी गर्छौं पनि, नेपाली जनता र सरकारको प्राथमिकतामा पर्यौं भने ।’

नेपालको विकास साझेदार बन्ने उद्देश्यले नै शुक्रबार नेपाल–भारतबीच तीनवटा समझदारी तथा सहमतिपत्रमा हस्ताक्षर भएको उनले स्पष्ट पारे ।

नेपालको पुनर्निर्माणका लागि भारतले ७५ करोड अमेरिकी डलर (करिब ७९ अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने सहमति शुक्रबार भएको छ ।

यो सहयोगले भूकम्पपीडित लाखौं नेपालीले राहत पाउने विश्वास उनले व्यक्त गरे ।