काठमाडौं, ३० भदौ । महिला कर्मचारीलाई कु–दृष्टि लगाएको समाचारहरु पत्रपत्रिका र अनलाइनहरूमा सम्प्रेषण भएपछि नाक मुख देखाउन नसक्ने अवस्थामा पुगेका संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सह–सचिव मधुसुदन बुर्लाकोटी स्वाथ्य मन्त्रालयको कमाउ अड्डा ताकेर बसेका छन् ।
सजाय स्वरुप स्थानीय विकास मन्त्रालयको कामै नलाग्ने महाशाखामा थन्किएका सह–सचिव बुर्लाकोटीलाई महिला कर्मचारीहरूले खासै मन पराउँदैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
महिला कर्मचारीमाथि उनको दृष्टि अलि बढी पर्ने भएकाले उनको छेउछाउ महिला कर्मचारीहरू नजाने गरेको आरोप छ । केही महिला कर्मचारीहरूसँग उनको नाम जोडिँदै आएको पनि छ ।
सोही कारण सह–सचिव बुर्लाकोटीलाई स्थानीय विकास मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट मन्त्रालयको बिल्डिङको सबैभन्दा माथिल्लो तलामा रहेको शाखामा सारिएको हो । शाखा सरुवा उनलाई कारबाही स्वरुप लिएको एक सह–सचिवले बताए ।
स्थानीय विकास मन्त्रालयमा ‘महिला काण्ड’का कारण बिबादमा परेर ‘कालोनिलो’ बनेका बुर्लाकोटी स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखामा जानका लागि लविङ थालेका हुन् ।
स्रोतका अनुसार सह–सचिव बुर्लाकोटीले स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन शाखामा सरुवा हुन स्वास्थ्यमन्त्री गगनकुमार थापा समक्ष आकर्षक प्रस्ताव समेत पठाएका छन् । मन्त्री थापाले बुर्लाकोटीको यो प्रस्ताव स्वीकार गरे कि अस्वीकार गरे थाहा हुन सकेको छैन ।
स्वास्थ्यको कर्मचारी प्रशासन शाखा भ्रष्टाचारको अखडा मानिन्छ । यही शाखाबाट मुलुकभरिका चिकित्सक, नर्स, अहेबदेखि सबै कर्मचारीको सरुवा, बढुवालगायतका काम हुन्छ । कर्मचारी प्रशासन शाखामा पैसा नबुझाउने हो भने सह–सचिवले कुनै पनि काम गर्दैनन् भन्ने कर्मचारीहरूको गुनासो छ ।















प्रतिक्रिया