काठमाडौं, २९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकिएको छ ।
विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण पछि धावनमार्गमा गुडिरहेको बेला स्याल ठोकिदा विमानस्थल २२ मिनेट बन्द गर्नुपरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्ने क्रममा विमानले स्याललाई ठक्कर दिएको थियो । स्याल घटनास्थलमै मरेको थियो ।
गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए ।
चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे ।
बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए ।
तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो ।
यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुनः बन्द हुन गयो । ‘बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुपर्यो । ७ बजेर ३१ देखि ७ बजेर ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुपर्यो’, विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर भने ।
यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो ।
कतारको राजधानी दोहाबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुईवटा विमान होल्डमा परेका थिए ।















प्रतिक्रिया