११ कार्तिक २०८३, बुधबार

यी हुन् चेन अफ कमाण्डमा कमजोर एसएसपी

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dayanidhi Gyawaliकाठमाडौं, २३ भदौ । गत माघ महिनामा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ललितपुरका डिएसपी दयानिधि ज्ञवालीसहितका प्रहरी अधिकारीहरु घूस काण्डमा रंगेहात पक्राउ परेको घटनाप्रति आक्रोश हुँदै भनेका थिए–‘प्रहरी संगठन चेन अफ कमाण्ड अनुसार चल्छ, कसैले गल्ती गर्छ भने त्यसलाई छोडिँदैन । त्यसको जिम्मेवारी वृत्त, प्रभाग, परिसर प्रमुखले लिनुपर्छ, तल्लो प्रहरीले गरेको भनेर उम्कन मिल्दैन ।’

उपत्यकाका तीनवटै परिसर, वृत्त र प्रभाग प्रमुखहरुसँग ब्रिफिङ गर्दै उनले प्रहरी संगठनको बदनाम गर्नेलाई कुनै हालतमा पनि नछोड्ने बताएका थिए ।

त्यतिबेला ललितपुर परिसर प्रमुख एसएसपी पीताम्बर अधिकारीलाई कमाण्ड कमजोर भएको भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो ।

तर, लगत्तै शक्तिकेन्द्रको दबाबका कारण उनलाई परिसर नै फिर्ता पठाइयो । अहिले पूर्व मन्त्री श्यामसुन्दर गुप्ता पक्राउ प्रकरणमा एसएसपी अधिकारी मातहत रहेको भैंसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक अनिल पण्डितलाई पक्राउ गरिएको छ ।

पण्डितको सहयोगमा मेनपावर व्यवसायीसँग गुप्ताले ५० लाख माग गरेको भन्दै उनलाई नियन्त्रणमा लिई एसएसपी अधिकारीले नै छानविन थालेका छन् ।

बुधबार ललितपुर परिसर जावलाखेल पुगेर आईजीपी अर्यालले ललितपुरकै प्रहरी पटक–पटक किन अपराधीसग जोडिएर आउँछ भन्दै आक्रोश पोखेका थिए ।

तर, आफू मातहतका प्रहरीलाई पक्राउ गरी एसएसपी अधिकारीले आफूलाई चोखो बनाउन खोजेपनि उनी चेन अफ कमाण्डमा कमजोर सावित भएको यो चौथो घटना हो ।

यसअघि नै ब्रिफिङका क्रममा आइजीपी अर्यालले तल्लो प्रहरीले गल्ती गरेको भनेर नेतृत्व उम्कन नमिल्ने बताइसकेको हुँदा एसएसपी अधिकारीले यो घटनाको पनि जिम्मेवारी लिनुपर्ने हुन्छ ।

डिएसपी ज्ञवालीसहितका दुई प्रहरी अधिकृत पक्राउ पर्दा एसएसपी अधिकारीलाई ठूलो धक्का लागेको थियो । यसअघि, अधिकारी जिल्ला प्रहरी कार्यालय रौतहटमा प्रमुख छँदा उनकै मातहतका प्रहरी एसएलआर राइफल सहित भागेका थिए ।

त्यतिबेला पनि उनी चेन अफ कमाण्डमा कमजोर भएको भन्दै विवादमा मुछिएका थिए । एसएलआर सहित भागेका छोटेलाल ठाकुरलाई महानगरिय प्रहरी अपराध महाशाखको टोलीले सुन्धाराको लुम्बिनी पाहुना घरमा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्सामा रहँदा पनि एसएसपी अधिकारीकै कमजोर चेन अफ कमाण्डकै कारण हतियार हराएको थियो ।

प्रहरीमा अधिकारीलाई राम्रा अधिकृतका रुपमा लिने गरिए पनि चेन अफ कमाण्डमा उनी कमजोर मानिएको यो चौथो घटना हो ।