२८ आश्विन २०८३, बुधबार

प्रेस चौतारी रासस पत्रकारिता पुरस्कार विद्रोहीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidrohi-giri

काठमाडौं । प्रेस चौतारी राष्ट्रिय समाचार समिति (रासस) शाखाले स्थापना गरेको रासस पत्रकारिता पुरस्कारबाट नवलपरासीका रासस सम्वाददाता विद्रोही गिरी पुरस्कृत भएका छन् ।

नेकपा एमाले केन्द्रीय प्रचार विभागका प्रमुख प्रदीपकुमार ज्ञवाली, नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट र प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले बुधबार राजधानीमा संयुक्त रुपमा गिरीलाई पुरस्कृत गर्नुभयो । पुरस्कारको राशि नगद पाँच हजार रहेको छ ।

पुरस्कार छनोट समितिका संयोजक श्याम रिमालले गिरीले लामो सयमदेखि मोफसलमा रही ग्रामीण समस्यालाई निरन्तर रुपमा उजागर गर्दै आएकाले यो पुरस्कार प्रदान गरिएको बताउनुभयो । चौतारी रासस शाखाका अध्यक्ष कालिका खड्काको अध्यक्षतामा भएको कार्यक्रममा शाखाको पुरस्कारका लागि रासस अन्तर्राष्ट्रिय समाचार शाखाका प्रमुख सुरेन्द्रबहादुर नेपालीले हरेक वर्ष सहयोग गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा पुरस्कार स्थापनामा महत्वपूर्ण सहयोग गरेवापत् राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँलाई पनि सम्मानित गरिएको थियो ।

‘सरकारी संचारमाध्यमलाई स्वायत्तता दिनुपर्छ’

समारोहलाई सम्बोधन गर्दै एमाले नेता ज्ञवालीले सरकारी सञ्चार माध्यमलाई स्वायत्ततासहित जनताको स्वार्थका पक्षमा हुने गरी समयानुकूलरूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सरकारी सञ्चार माध्यमलाई निजीकरण गर्दैमा जनताको पक्षमा ती माध्यम सञ्चालित हुन्छन् भन्ने कुराको सुनिश्चितता नहुने उहाँको धारणा थियो । तर यी माध्यमले सरकारको स्तुतिगान गाउनुपर्छ भन्ने पक्षमा पनि आफ्नो पार्टी नरहेको उहाँले बताउनुभयो ।

नेता ज्ञवालीले भन्नुभयो, ‘सरकारी सञ्चार माध्यमलाई निजीकरण गर्दा स्वार्थअनुकूलका समाचारले प्राथमिकता पाएर जनसरोकारका समाचार पछाडि पर्न सक्छन्, त्यसकारण यी माध्यमलाई स्वायत्तता हुने गरी सञ्चालन गर्नुपर्छ ।’

उहाँले राष्ट्रिय समाचार समितिको औचित्य छैन भन्ने तर्कसँग आफू सहमत नरहेको जनाउँदै यसलाई समयानुकूलरुपमा परिवर्तित गरी प्रभावकारी सञ्चालन गर्न सकिने बताउनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले सबै राजनीतिक दलले इमान्दारीतापूर्वक राजनीतिक सक्रमणलाई निकास दिएर एक बर्ष भित्र संविधान निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

वर्तमान सरकारको काम कारवाही सुस्त भएको तर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘‘म प्रधानमन्त्री ज्यूलाई आग्रह गर्दछु तपाई हात दह्रो बनाउनुस सरकारको सकारात्मक कामलाई सफल बनाउने हातहरु देशै भरी छन्, राम्रो काम गर्नुभएन भने आलोचना हुन सक्छ ।’’

कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष डा महेन्द्र विष्ट, प्रतिष्ठान तर्फका केन्द्रीय सदस्यद्वय सुरज आचार्य र रोशन पुरी, मधेसीतर्फका सदस्य बेचू गौंडलगायतलाई सम्मान गरिएको थियो ।

महासंघको केन्द्रीय सदस्यमा रासस नारायणी अञ्चल कार्यालयका प्रमुख शितल महतो र विराटनगर संवादाता गणेश लम्साल पनि निर्वाचित हुनुभएकामा पनि शाखाले बधाई प्रकट गरेको छ ।

नवनिर्वाचित अध्यक्ष डा. विष्टले श्रमजीवी पत्रकारको मागलाई सम्बोधन गर्न आफू तयार रहेको र सोही दिशामा महासङ्घ सबैको साझा संस्थाको रुपमा अगाडि बढ्ने विश्वास दिलाउनुभयो । उहाँले राससलाई मर्यादित र समयानुकल बनाउनुपर्नेमा जोड दिदै श्रमजीवि पत्रकारको पक्षमा सदा महासङ्घ रहेको बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले रासस जस्तो सन्तुलित समाचार दिने संस्था मुलुकका लागि अझै पनि अत्यावश्यक रहेकोमा जोड दिदै आस्थाका आधारमा कुनै पनि सञ्चारकर्मीलाई दुःख दिने काम गरिए त्यसको विरोधमा उत्रने चेतावनी दिनुभयो ।

प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष एवम् राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले आफ्नो कार्यकालमा कर्मचारीका स्तरोन्नतीलगायत संस्थाको सुदृढीकरणका लागि कार्य गरेको चर्चा गर्नुभयो ।

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले सञ्चार माध्यमहरु अझै पनि महिलामैत्री बन्न नसकेको धारणा राख्दै आगामी दिनमा हुने विभिन्न खालका नियुक्तीहरुमा महिलालाई विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो ।

राससका प्रधानसम्पादक श्रीरामसिंह बस्नेतले राज्यसँग समाचार समिति ऐन नभएका कारण समस्या पैदा भएको भन्दै राससलाई समयानुकल अगाडि लैजानका लागि सकारात्मक सोचको जरुरी रहेकोमा जोडदिनुभयो । चौतारी रासस शाखाका पूर्व अध्यक्ष प्रकाश सिलवालले राससको औचित्यका बारेमा प्रश्न उठेपनि हालैको एक सर्वेक्षणमा ८५ प्रतिशतले यसको आवश्यकता र औचित्यता रहेको पाइएको बताउनुभयो ।