२८ आश्विन २०८३, बुधबार

युवती बेच्न खोज्नेलाई जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-bechbikhan-cheli-paisa

महोत्तरी । महोत्तरीको बिजलपुरा गाविसकी एक युवतीलाई बेच्न खोज्ने एक अभियुक्तलाई आज महोत्तरी जिल्ला अदालतले पूर्पक्षको लागि जेल चलान गरेको छ ।

जेल चलान हुनेमा बिजलपुरा गाविस– ८ बस्ने दिलबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अभियुक्त परियारलगायतका केही व्यक्तिले गत चैत २१ गते स्थानीय एक युवतीलाई उच्च मावि बिजलपुराबाट पढेर फर्किरहेका बेला नसालु पदार्थ खुवाई बेहोस पारेर भारतमा बेच्न लगेका थिए ।

भारतको सीतामढी जिल्लाअन्तर्गत पर्ने कन्हमा बजारमा लुकाइराखेको अवस्थामा युवतीलाई होस आएपछि उनी अपहरणकारीलाई छलेर भाग्न सफल भएकी थिइन् ।

अपहरणकारीको चङ्गुलबाट भाग्न सफल भएकी पीडितले चैत २७ गतेका दिन इलाका प्रहरी कार्यालय बर्दिवासमा किटानी जाहेरी दिएपछि प्रहरीले सोही दिन अभियुक्त परियारलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ गरेका अभियुक्त परियारलाई जिल्ला अदालत महोत्तरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दाअन्तर्गत पूर्पक्षका लागि जेल चलान गरेको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो ।

प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास व्यापक रुपमा भइरहेको र उनीहरु पनि चाँडै पक्राउ पर्ने बताएको छ ।