काठमाडौं, २२ असार । ज्यान सम्बन्धि मुद्दाका फरार अभियुक्त काठमाडौं महानगरपालिका–१३ टेकु बस्ने २६ बर्षीय अनिल महर्जनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर बागडोलबाट बुधबार पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कर्तब्यज्यान र ज्यान मार्ने उद्योग मुद्दाहरुमा काठमाडौं जिल्ला अदालतको २०६९ मंसिर १४ को फैसलाले महर्जनलाई १ वर्ष ६ महिना कैद हुने ठहर भएकोमा उक्त कैद तथा जरीवाना वेरुजु रही फरार रहेकोमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
२०६७ चैत २१ गते नेवार समुदायको पाँचारे (घोडेजात्रा) मा नीलबाराही अजिमा मुर्तीलाई खटमा परिक्रमा गराउँदै काठमाडौं महानगरपालिका–२१ मन्जुश्री गल्लिमा पुगेको अवस्थामा काठमाडौं–१३ बस्ने सुजन शाही, राजेन्द्र शाही र अनिल महर्जनको सोही ठाउँ बस्ने रुजेन शाहीसँग बादबिबाद र झगडा भएको रिसईवीमा सुजन शाहीले रुजेन शाही, दीपक शाही र दिलकाजी शाहीसमेत ३ जनालाई छुरा प्रहार गर्दा घाइते भएका रुजेनको सोही दिन उपचारको क्रममा वीर अस्पताल काठमाडौमा मृत्यु भएको घटनामा सुजन शाहीलाई अपराध हुन नदिन रोकछेक नगरी मुकदर्शक बनी बसेको हुँदा दोषी ठहर गर्दै अदालतले महर्जनलाई उक्त सजाय हुने ठहर गरेको थियो ।
महर्जनलाई फैसला कार्यान्वयनको लागि ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ ।













प्रतिक्रिया