काठमाडौं, २२ असार । सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संचालित उच्चस्तरीय व्यवस्थापन तालिम असार २२ गते सम्पन्न भएको छ । उक्त तालिम सशस्त्र प्रहरी बलमा संचालन भएको यो पहिलो अवसर हो ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले त्यसअवसरमा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले सो अवसरमा संगठनले बृत्तिविकास र व्यक्तित्व विकासका लागि यस्ता तालिमको आयोजना गरेको उल्लेख गर्नुहुँदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा र कर्तव्य पालनाको सिलसिलामा उपयोग गर्नुपर्ने बताउनुुभयो ।
यस प्रकारका तालिमले संगठनको लक्ष्यीत उद्देश्य प्राप्तीमा सहयोग पुग्ने बताउनुहुँदै उहाँले तालिममा सिकेको कुराहरुलाई कार्यक्षेत्रमा लागू गर्न सकेमा व्यक्ति र संगठनको सफलतामा सघाउ पुग्ने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले संगठन र राज्यले दिएको जिम्मेवारी पुरा गर्न प्रत्येक सशस्त्र प्रहरी कर्मचारी दत्तचित्त भएर लाग्नुपर्ने चर्चा गनुहुँदै राम्रो कार्य गर्ने कर्मचारीको बृत्ति विकास संगठनले हेर्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझाले धन्यवाद ज्ञापनको क्रममा तालिम संचालनमा सहयोग पर्याउने सबै प्रति आभार प्रकट गर्नुहुँदै तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा सफता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय जन प्रशासन केन्द्रीय विभाग प्रमुख प्राध्यापक डा. टेकनाथ ढकालले यस प्रकारको तालिम जन प्रशासन र सुरक्षा निकाय बीचको सहकार्य भएको बताउनुहुँदै सांगठानिक योजनाको क्रममा यस प्रकारको तालिम महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
यस प्रकारको तालिम व्यक्तित्व विकासको अवसर भएको चर्चा गर्नुहँुदै उहाँले प्रशिक्षणको दौरानमा सिक्ने र सिकाउने अवसर दुवै प्राप्त भएको चर्चा गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक श्रीकृष्ण श्रेष्ठले प्रशिक्षार्थीहरुको उत्साहपुर्ण सहभागिताबारे चर्चा गर्नुहुँदै यस तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई व्यवहारमा उपयोग गरिदा जिम्मेवारी निर्वाहमा सहजता आउने उल्लेख गर्नुहँुदै आफ्नो दृष्टिकोण र ज्ञानलाई फराकिलो बनाउदै लैजानु पर्ने बताउनुभयो ।
प्रशिक्षार्थीको तर्फबाट मन्तव्य व्यक्त गर्नुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेलले व्यक्तित्व विकासमा यस तालिम फलदायी रहेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक निराकारम विक्रम शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने त्रिभुवन विश्वविद्यालयका डा. नरेन्द्रराज पौडेलले तालिम सम्बन्धि गतिविधि प्रस्तुत गर्नुभएको थियो ।
यही असार २ गतेबाट संचालन भएको उक्त तालिममा चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा १६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले सोही समारोहमा सशस्त्र प्रहरी उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेको व्यवस्थापन तथा योजना तालिमको प्रथम प्रवचन समेत गर्नुभयो ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय जन प्रशासन केन्द्रिय विभागको संयुक्त आयोजनामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संचालन हुने उक्त तालिममा ३० जना सशस्त्र प्रहरी उपरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल र जीतबहादुर पुन तथा केन्द्रीय जन प्रशासन क्याम्पसका निमित्त प्रमुख हरिभक्त शाही लगाएत सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया