काठमाडौ, २२ असार । गत शुक्रवार गोदावरीको टौखेलस्थित पुञ्पाञ्जलि माध्यमिक विद्यालयमा दुई जना विद्यार्थीको ज्यान जाने गरी भएको घटनामा विद्यालयले जग्गा प्लटरमाथि कारवाहीको माग गरेको छ ।
विद्यालयले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर भुकम्प प्रतिरोधी प्रिफाईभ भवनमा अध्यापन गरिरहेको भएपनि सीमानामा जग्गा प्लटिङ गर्नेले लगाएको पर्खाल ढलेर उनीहरुको मृत्यू भएकोले जग्गा प्लटरलाई कारवाही गरेर न्याय दिलाउन माग गरेको हो ।
पत्रकार सम्मेलनमा विद्यालयकी प्रधानाध्यापक पुहमी कान्ति बज्राचार्य लेप्चाले विद्यालयले पर्खाल लगाउने बेलामा आफूहरुले नलगाउन बारम्बार आग्रह गर्दा गर्दै पनि अटेर गरेर लगाएकोले दुर्घटना भएको भन्दै जग्गा प्लटरमाथि कारवाही गरेर मृतक र घाईतेका परिवारलाई न्याय दिलाउनु पर्ने माग गरिन ।
उनले तत्कालै विद्यार्थी, अभिभावक, शिक्षक, प्रहरीसहित स्थानीयको तदारुकताको कारण धेरै घाईते विद्यार्थीहरुको ज्यान बचाउन सकिएको बताउँदै घटनामा घाईते भएका २६ जनामध्ये दुईको मृत्यू भएको र बाँकी मध्ये सबै डिस्चार्ज भएर नौ जना मात्रै अहिले अस्पतालमा उपचार गराईरहेको जानकारी दिइन ।
प्रधानाध्यापक लेप्चाले अहिलेसम्म सम्पूर्ण विद्यार्थीको उपचार खर्च विद्यालय बेहोरेको जानकारी दिदै मृतक विद्यार्थीलाई सधै सम्झना गराईरहने गरी विद्यालयले मृतक दुई विद्यार्थीको नाममा शिक्षा कोष स्थापना गरिएको र उनीहरुको नाममा विद्यालयले विभिन्न रचनात्मक क्रियाकलापहरु निरन्तर गर्दै जाने प्रतिबद्धता ब्यक्त गरिन । उनले आशा नेपालले तत्कालै एम्बुलेन्स उपलब्ध गराएकोले ठूलो अप्रिय घटना घटन नपाएको भन्दै धन्यबाद समेत दिइन ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले विद्यालय जस्ता संबेदनशिल क्षेत्रका छेउमा अब्यवस्थित रुपमा प्लटिङ जस्तो काम गर्न रोक लगाउनु पर्ने भन्दै घटनामा प्रमुख दोषीको रुपमा रहेका जग्गा प्लटिङ गर्नेलाई कानूनी दायरामा ल्याएर पीडित परिवारलाई न्याय दिलाउनु पर्ने माग गरे ।
उनले सरकारसहित सरोकारवालाहरुले विद्यालयलाई फेरि पुरानै अवस्थामा फर्काएर पठन पाठनको ब्यवस्था गर्नु पर्ने धारणा राख्दै शिक्षा मन्त्रालयले नै घटनाको छानविन गरेर दोषिमाथि कारवाहीको लागि पहल गर्नु पर्ने माग गरिन ।
विद्यालय सञ्चालक समिति सदस्य एवम आशा नेपालकी कार्यकारी निर्देशक विमला थापाले जग्गा प्लटरले मृतक विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति र घाईतेहरुको उपचार गर्नु पर्ने भन्दै हिजो आफूहरुले बाराम्बार आग्रह गर्दा समेत प्लटरले नटेर्दा दुर्घटना हुन पुगेकोले दोषिमाथि कारवाहीको माग गरिन ।












प्रतिक्रिया