१९ कार्तिक २०८३, बिहिबार

बेलौरीबाट विट्टु भाटियाको ६० बोरा अबैध सुपारी बरामद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Supari

– रञ्जित लामा

बेलौरी, २१ असार । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–२ दिनापुर स्थित थापा चौराहा नजिकबाट प्रहरीले अबैध सुपारी बरामद् गरेको छ ।

आईतबार राति करिब १२ बजेतिर सीमावर्ती भारततर्फ लैजान तयारी हालतमा रहेको अबैध सुपारी इलाका प्रहरी कार्यालय बेलौरीले बरामद गरेको हो । नेपाल भारत सीमाको तीन सय मिटर आसपासको दुरीमा रहेको विटटु भाटियाको गोदामबाट ६० बोरा अबैध सुपारी इलाका प्रहरी कार्यालय बेलौरीले आफ्नो नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको अबैध सुपारी सोमबार नै जिल्ला भन्सार कार्यालय कञ्चनपुरको जिम्मा लगाईएको प्रहरी निरीक्षक चौधरीले बताए ।

कञ्चनपुरको दक्षिणी क्षेत्रबाट पटक–पटक यसरी ठुलो तस्करी हुने गरेको पाइए पनि बेलौरी प्रहरीले सुपारी बरामद् गरेको यो पहिलो रेकर्ड हो । यस भन्दा अगाडि गत वर्ष क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट प्रहरी नायब निरीक्षक विरेन्द्र जुहारीको नेतृत्वमा खटिएको ब्युरो प्रहरीले एक ट्रयाक्टर र दुई ट्रालि सहित विट्टु भाटियाकै सुपारी बरामद् गरेको थियो ।

बेलौरीमा ठूलो अखडा बनाई बसेका भारतीय मुलकका भाटियाले यसरी सुपारीको साथै सुन, चाँदी, हातहतियार, छाला लगायत विभिन्न अबैध तस्करी गर्दै गरेको सुन्नमा आएको तर हालसम्म भने फेला पार्न नसकिएको प्रहरी निरीक्षक चौधरीको भनाई छ । कहिले प्रहरीलाई लाईन नदिएमा मात्र बरामद् हुने गर्दछ एक स्थानीयले भने नत्र भने कसैले पनि उसको सामान नसमात्ने गरेको बताउछन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एस.पी. तुलसीप्रसाद खनालले– “विट्टुसिंह भाटिया वर्षाैदेखि सुपारीको तस्कर हो भनेर जान्दा–जान्दै पनि हिरासतमा लिनलाई सरकारको स्पष्ट नीति नभएको” उनले बताए । नेपालबाट सुपारी नेपालको जुनसुकै ठाउँमा पनि आयात गर्न मिल्ने र राख्न पाउँने सरकारको स्पष्ट नीति छ –उनले भने । तर सरकारले नेपालमा सुपारी भण्डार कुन–कुन ठाउँमा गर्न पाउँने नपाउँने भन्ने विषयमा सरकारको स्पष्ट नीति र धारणा नभएको कारण सीमावर्ती क्षेत्रहरुमा यस्ता तस्करहरुलाई थप हौसला मिल्ने गरेको एस.पी. खनालले बताए ।

यसरी तस्करीको ठूलो अखडाको रुपमा चिनिने कञ्चनपुरको दक्षिणी क्षेत्रमा एउटा सिङ्गो सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पनि छ, र अन्य ठाउँमा नेपाल प्रहरी पनि छन् तर यसरी बरामद् भएका घटना विरलै हुने गरेको स्थानीय बुद्धिजिवीको दाबी छ ।

सुरक्षाको फितलो संयन्त्र र तस्करीको अखडाको रुपमा नामुद बन्दै गएको बेलौरी÷पुनर्वासमा ईलाका प्रहरी कार्यालय बेलौरीको यो पहिलो सफलता भन्नु पर्छ । झण्डै ६ महिना अगाडि पनि इलाका प्रहरी कार्यालय बेलौरीले १९ जना जुवाडेलाई नियन्त्रण लिइ केहीलाई जिल्ला चलानसमते गरेको थियो । १९ जना जुवाडे नियन्त्रणमा लिएको घटना पनि पहिलो नै थियो ।

तस्करीको जालो निकै बलियो र व्यापक ढङ्गले फैलिएको कञ्चनपुरको दक्षिणी क्षेत्रमा प्रहरी निरीक्षक चौधरीको पहल कदमीलाई स्थानीयले मुक्त कण्ठले प्रशंसा गरेका छन् । आगामी दिनमा समेत यस्ता तस्करी नियन्त्रणका लागि आफु कडाका साथ प्रस्तुत हुने प्रहरी निरीक्षक चौधरीले बताए ।