काठमाडौं, १९ असार । राष्ट्रिय नागरिक विकास समाजले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ पत्रकार टंक पन्तसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।
समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ पत्रकार पन्तसहित गोरखापत्र दैनिकका सञ्चारकर्मी दीपक श्रेष्ठ र लक्ष्मी खतिवडा, ग्रिनसिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डनलगायत विभिन्न सामाजिक कार्यमा संलग्न एक दर्जन सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मानित गरेको हो ।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल बुद्धको जन्मभूमि मात्र नभई आध्यात्मिक र बौद्धिक उद्गमस्थल रहेकाले यही विशेषतालाई नेपालको पर्यटन क्षेत्रको विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
नेपालको आर्थिक विकासको स्तम्भ कृषि, जलस्रोत र तेस्रोमा पर्यटन रहेकामा अब पर्यटनलाई पहिलो स्तम्भ बनाउनका लागि सम्पूर्ण क्षेत्रले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उद्योग राज्यमन्त्री मेघराज नेपालीले नेपालको विकास गर्ने मुख्य स्रोत भनेकै नेपाली जनता हुन् त्यसैले नेपाली जनताले परिवर्तन चाहने हो भने नेपालको विकास छिट्टै हुने बताउनुभयो ।
पूर्वमन्त्री रामकुमार श्रेष्ठले सरकारमा बसेकाहरु इमान्दार भएर देश विकासमा लाग्ने हो भने मुलुकले केही वर्षभित्रै मुहार फेर्ने दाबी गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले देशको पुनःनिर्माणमा विदेशी सहयोगको अपेक्षा गर्नुभन्दा सबै नेपाली जुटेर लाग्नुपर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष महेशजङ्ग कुँवरले समाजमा उल्लेखनीय कार्य गर्ने विशिष्ट संस्था, व्यक्तित्वलाई सम्मान गरेको र यो कार्यलाई निरन्तरता दिने बताउनुभयो ।












प्रतिक्रिया