काठमाडौं, १८ असार । राष्ट्रिय नागरिक विकास समाजले आफ्नो आठौ वार्षिकोत्सवका अवसरमा आज विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।
समाजले आयोजना गरेको उक्त कार्यक्रममा गोरखापत्र दैनिकका सञ्चारकर्मी दीपक श्रेष्ठ, लक्ष्मी खतिवडा, ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोकबहादुर टण्डनलगायत विभिन्न सामाजिक कार्यमा संलग्न एक दर्जन सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मानित गरियो ।
पर्यटन, सँस्कृति तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल बुद्ध जन्मभूमि मात्र नभई आध्यात्मिक र बौद्धिक रुपमा समेत उद्गम स्थल रहेकाले यही विशेषतालाई नेपालको पर्यटन क्षेत्रको विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
नेपालको आर्थिक विकासको पिल्लर कृषि, जलस्रोत र तेस्रोमा पर्यटन रहेकोमा अब पर्यटनलाई पहिलो पिल्लर बनाउनका लागि सम्पूर्ण क्षेत्रले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उद्योग राज्यमन्त्री मेघराज नेपालीले नेपालको विकास गर्ने मुख्य स्रोत भनेकै नेपाली जनता हुन् त्यसैले नेपाली जनताले परिवर्तन चाहने हो भने नेपालको विकास छिट्टै हुन्छ भन्नुभयो ।
पूर्वमन्त्री रामकुमार श्रेष्ठले सरकारमा बसेकाहरु इमान्दार भएर देश विकासमा लाग्ने हो भने मुलुकले केही वर्षभित्र मुहार फेर्ने दाबी गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले देशको पुनः निर्माणमा विदेशी सहयोगको अपेक्षा गर्नुभन्दा सबै नेपाली जुटेर लाग्नुपर्नेमा जोड दिनुभयो ।
समाजका अध्यक्ष महेशजङ्ग कुँवर समाजमा उल्लेखनीय कार्य गर्ने विशिष्ट संस्था, व्यक्तित्वलाई सम्मान गरेको र यो कार्यलाई निरन्तरता दिने बताउनुभयो । रासस÷अन्जली












प्रतिक्रिया