– सुदीप अधिकारी
बर्दिया, १८ असार । सदरमुकाम गुलरियादेखि भुरिगाउँ जोड्ने ३२ किलोमिटर हुलाकी राजमार्ग यतीखेर हिलाम्मे भएको छ ।
सडक हिलाम्मे हुँदा सदरमुकाम आवतजावत गर्न जनतालाई सास्ती भएको छ । हुलाकी सडकमा भएको ठूलाठूला खाल्डा खुल्डी र हिलोले गर्दा साना तथा ठुला सवारी साधन चलाउन मुस्किल भएको छ । हिलोका कारण पानी परेको दिन हुलाकी सडकमा सवारीसाधन ठप्प हुने गरेका छन् ।
हिलोका कारण सवारी साधन नचल्दा सरकारी कामकाजका लागि सदरमुकाम जानेहरुलाई बिच बाटोबाटै फर्कने गरेका छन् । सडक हिलाम्मे हुँदा ठाकुरद्धारा, शिवपुर, नेउलापुर, बग्नाहा, ढोढरीलगाएतका गाविसका जनतालाई सदरमुकाम आवतजावत गर्न निकै समस्या परेको छ ।
भुरिगाउँदेखि बेलवा चोक सम्मको १६ किलोमिटर सडकमा जाहातही ठूलाठूला खाडल छन् । खाडलमा पानी भरिएकाले सवारीसाधन गुड्ने सडक अहिले गाई भैसी आहाल बस्ने ठाउँ जस्तो भएको छ । वेलवा चोकदेखि गुलरियासम्मको निमार्णाधिन सडक समयमै पुरा नहँुदा पानी परेको दिन पैदल हिड्न समेत अप्ठ्यारो हुने गरेको छ ।
हुलाकी सडक हिलाम्मे भएपछि अघिपछिको तुलनामा सवारीसाधन समेत ज्यादै कम चल्ने गरेका छन् । सवारी साधन कम चल्दा सरकारी कामकाजका लागि सदरमुकाम गएका जनता उतै बास बस्न बाध्य भएका छन् । सडकमा जहातही खाल्डाखुल्डी र हिलोका कारण सदरमुकाम गुलरियादेखि भुरिगाउँसम्मको ३२ किलोमिटर सडकमा यात्रा गर्दा ४ घण्टा भन्दा बढी समय लाग्ने गरेको बग्नाहाका रामशंकार थारुले बताए ।
हुलाकी सडकको सयौँ ठाउँमा भएको खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण सदरमुकाम आवतजावत गर्दा जनताले निकै सास्ती खेप्दासमेत सडम मर्मत गर्ने तर्फ सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । सरकारी निकायको वेवास्ताप्रती यस क्षेत्रका जनताले आक्रोश व्यक्त गरेका छन् ।













प्रतिक्रिया