काठमाडौँ, १७ असार । नेपालका केही निजी विद्यालयमा संस्कृत भाषा अध्ययनअध्यापन गर्न सुरु गरिएको छ ।
यसरी अध्यापन सुरु गरिएको वाग्मती बोर्डिङ स्कुल, सुकेधाराले आज ‘विद्यालय तहमा संस्कृत अध्यापनको सान्दर्भिकता’ विषयमा गरेको अन्तक्र्रियामा वक्ताले अङ्ग्रेजी र अन्य विदेशी तथा स्वदेशी भाषामा प्रयोग भएका शब्दको व्युत्पति थाहा पाउन तथा वेद, पुराण, उपनिषद् आदि अथाह ज्ञानका स्रोतबाट लाभ लिन पनि संस्कृत भाषाको अध्ययनअध्यापन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव एवम् जेट नेपालका अध्यक्ष वामनप्रसाद न्यौपानेले आधुनिक विकासको उच्च तहमा पुगेका देशमा समेत मानसिक शान्ति र सदाचार प्रबद्र्धनका लागि संस्कृत भाषा अध्यापन सुरु भएकाले नेपालका विद्यालय तहमा पनि सुरु गरिएको बताउनुभयो “यसका लागि संस्थाले ५, ६, ७ र ८ कक्षाको दुई-दुई प्रति पुस्तक प्रकाशन गरेको छ, संस्कृत अध्यापन गराउन चाहने विद्यालयका लागि पुस्तक उपलब्ध गराइनेछ”–उहाँले भन्नुभयो ।
संस्कृत भाषाका अध्यापक जनार्दन घिमिरेले अधिकांश अङ्गे्रजी शब्दको स्रोत संस्कृत भएकाले निजी विद्यालयमा संस्कृत अध्यापनको सान्दर्भिकता पुष्टि हुने तर्क गर्नुभयो “संस्कृत भाषाको हृद् शब्दबाट अङ्ग्रजीको हर्ट बनेको हो, यसरी संस्कृतबाट अङ्ग्रेजीमा गएका शब्द धेरै छन्, यो त उदाहरण मात्र हो, यो जान्नका लागि संस्कृत भाषा अध्ययन गरिनुपर्छ”–उहाँले भन्नुभयो ।
कार्यक्रममा जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल, ‘मधुपर्क’मासिक पत्रिकाका प्रधानसम्पादक कमल रिजाल, नेपाल राष्ट्र बैंकका निर्देशक गोपीकृष्ण कोइराला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र सिटौला, धार्मिक अभियानकर्मी धर्मराज बराल, हरेराम ओझा लगायतले आध्यात्मिक र भौतिक दुवै ज्ञानका लागि संस्कृत भाषाको अध्यापन सुरु गरिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा विद्यालयले प्रकाशन गरेको संस्कृत भाषाको पुस्तक ‘ज्ञान सागर’ सार्वजनिक गरिएको थियो । कार्यक्रमका सहभागीलाई विद्यालयका विद्यार्थीले संस्कृत श्लोक पाठ गरी स्वागत गरेका थिए । रासस












प्रतिक्रिया