– निशानदाजु भट्टराई
दाङ, १७ असार । नेपाल संस्कृत विश्वविद्यालय ताला प्रकरण झन् पछि झन् तनावग्रस्त बन्दै गइरहेको छ ।
आफूहरुको सहमति बेगर एमाले र कांग्रेसका नेताहरुले ताला फोडेको विषयलाई लिएर हिजोदेखि आन्दोलित प्रगतिशील प्राध्यापक संगठनले आज देशभर रहेका संस्कृत विश्वविद्यालयमा तालाबन्दी गर्ने तयारी गरेको बेला दाङको स्थानीय प्रशासनले बल प्रयोग गर्ने तयारी गरेपछि विश्वविद्यालय तनावग्रस्त बन्दै गएको हो ।
यसअगाडि पुनरावेदन अदालतले विश्वविद्यालय जस्तो संवेदनशिल क्षेत्रमा ताला नलगाउन आदेश दिइसकेको छ । आदेशको विरुद्धमा उत्रिएर प्राध्यापकले विश्वविद्यालयमा तालाबन्दी गर्न खोजेपछि स्थानिय प्रहरी प्रशासनले ठुलो सख्यामा प्रहरी परिचालन गरेको छ । प्रहरी परिचालनपछि अहिले विश्वविद्यालयवाट प्राध्यापक हरु तितरवितर भएका छन् ।
यता नेकपा एमालेका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज मेटमणि चौधरीले सांसद भागवत विश्वासि र नेकपा एमाले दाङका अध्यक्ष जोगबहादुर रानाले विश्वविद्यालयको ताला खुलाउन पहल गरेर उदाहरणीय काम गरेको बताउनुभयो । पार्टीले सरकारको नेतृत्व गरिरहेको वेला संगठनका मागहरु पुरा गर्नुपर्नेमा ताला लगाएर विवाद मात्रै बढाउन खोजेकाले एमालेले अभिभाकत्व प्रदान गर्दै ताला खुलाएको बताउनुभयो ।
सार्वजनिक स्थानमा तालाबन्दी गर्ने जो कोहीलाई पनि पक्रेर सार्वजनिक मुद्दा चलाउन भन्दै सरकारबाट आफूलाई कडा निर्देशन आएको भन्दै स्थानीय प्रशासनले ठूलै संख्यामा प्रहरी परिचालन गरेको छ । जिल्लाका घोराही, तुलसीपुर र नारायणपुरलायतका क्षेत्रबाट गरी ४ गाडी प्रहरी विश्वविद्यालयमा परिचालन गरिएको छ ।
बरु मरौंला तालाबन्दी गरेर छाड्छौं – प्राध्यापक
यता आन्दोलनरत प्रगतिशील प्राध्यापक संगठनले कुनै पनि हालतमा ताला लगाएरै छाड्ने बताएको छ । प्रहरी प्रशासनको बलमा विश्वविद्यालय प्रशासनले आफूहरुमाथि अन्याय गरिरहेको भन्दै प्राध्यापक संगठनका केन्द्रीय सचिव डिलाराम भट्टराईले भन्नुभयो, ‘प्रगतिशील प्राध्यापक संगठनले आज देशभर रहेका विश्वविद्यालयका क्याम्पस, सम्पर्क कार्यालयमा तालाबन्दी गर्दै छ । हामीहरु मर्न तयार छौं । जस्तोसुकै मुद्दा खेप्न तयार छौं । तर, तालाबन्दी गरेरै छाड्छौं ।
विश्वविद्यालयको नियम बिपरितका गतिविधि विश्वविद्यालयका पदाधिकारीहरुबाट भइरहेको समयमा आफूहरु टुलुटुलु हेरे बस्न नसक्ने भन्दै प्राध्यापकहरुले मुद्दाको डर देखाई आफूहरुलाई आन्दोलनबाट पछाडि ढकेल्न खोजेको भन्दै माग पुरा नहुँदासम्म कुनै पनि हालतमा तालाबन्दी गरिरहने बताएका छन् ।
आन्दोलनको श्रृङ्खला सुरुदेखि अन्त्यसम्म
गत साउनमा प्रा. कुलप्रसाद कोइराला उप–कुलपतिमा, कात्तीके झा कुल–सचिवमा नियुक्त भएर आएपछि एकलौटी रुपमा गतिविधि सञ्चालन गरेसँगै विश्वविद्यालयमा बिरोधका स्वरहरु निस्कन थालेका हुन् । कहिले विद्यार्थी त कहिले कर्मचारी अनि कहिले प्राध्यापकहरुले सहमतिका साथ विश्वविद्यालका गतिविधि सञ्चालन गर्न गरेको अनुरोध लत्याएर उप–कुलपति कोइराला अगाडि बढेसँगै गत जेठ ७ गते ७ बुँदे माग राखी प्रगतिशील प्राध्यापक संगठनले विश्वविद्यालयको मुल गेटमा ताला लगाएको थियो ।
तालाबन्दीपछि आन्दोलनरत पक्ष प्राध्यापक संगठनलाई वार्तामा नबोलाई काठमाडौं हिडेका उप–कुलपति यो अवधीसम्म दाङ फर्कनुभएको छैन । प्राध्यापक संगठनले वार्ताका लागि पटक–पटक अनुरोध गर्दा समेत वार्तामा बस्न नचाहेका उप–कुलपति कोइरालाले प्राध्यापकसँग कुनै पनि हालतमा वार्ता बस्दैन भन्ने धारणा राख्दै आउनुभएको छ ।













प्रतिक्रिया