पोखरा, १५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकको आर्थिक समृद्धिका लागि कृषिलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
पोखरा पर्यटन परिषद्द्वारा यहाँ आज आयोजित १३औँ असारे रोपाइँ महोत्सवको उद्घाटन गर्दै कृषिमा आत्मनिर्भर बन्ने अभियानका साथसाथै पर्यटन प्रवद्र्धन गनुपर्ने बताउनुभयो ।
आगामी १० वर्षभित्र कृषिमा पूर्णरुपमा आत्मनिर्भर बन्न परम्परागत कृषि प्रणालीबाट माथि उठेर व्यावसायिक कृषिलाई प्राथमिकता दिनुपर्ने र उत्पादनमा विविधीकरण ल्याउनपर्ने उहाँको भनाइ थियो ।
पोखरा विशिष्ट पर्यटकीयस्थल भएको र यसको पर्यटकीय विकास समग्र ४ नं प्रदेशलाई समेट्ने गरी गरिनुपर्ने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसकी नेत्री एवम् सांसद शारदा पौडेलले पर्यटन नेपालको आर्थिक समृद्धि र विकासको महत्वपूर्ण माध्यम भएकाले यसमा राज्यको उच्च प्राथमिकता पर्नुपर्ने बताउनुभयो भने नेकपा माओवादी केन्द्रका नेता गङ्गा पोखरेलले कृषिमा विद्यमान परनिर्भरता हटाउन व्यावसायिक कृषिमा जोड दिन आवश्यक भएको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले युवा वर्गमा बढिरहेको कृषिप्रतिको अनिच्छालाई न्यून गर्न र परम्परागत कृषिको महत्व बोध गराउन महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
उक्त अवसरमा उत्कृष्ट कृषक तरकारी तथा फलफूलतर्फ रामजी पौडेल, खाद्यान्न बालीतर्फ पितृराज मरासिनी, पशुपालनतर्फ टीकाराम बराललाई सम्मान गरिएको थियो । साथै ८८ वर्षीय चन्द्रकान्त भण्डारी, ८४ वर्षिया नन्दकली रानामगर लगायतलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । महोत्सवका अवसरमा हिले दौडलगायतका प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । रासस













प्रतिक्रिया