काठमाडौँ, १५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले एक सातादेखि सदन अवरुद्ध गरेका कारण रोकिएको विनियोजन विधेयकमाथिको छलफल आज पुनः प्रारम्भ भएको छ ।
व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७३ अन्तर्गत सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानून न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालयमाथिको छलफल आजै सकिएको छ ।
बैठकमा सांसदहरुले कृषि प्रधान देश भनिएपनि कृषकलाई प्रोत्साहन गर्ने तथा वैज्ञानिक भूमि भूमिसुधार र जग्गा एकीकरणको विषयलाई बजेटले सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभयो । कृषिमा दिइएको अनुदान पहुँचवालाले मात्र प्राप्त गर्न सक्ने सम्भावनालाई रोक्न सरकारले विशेष चनाखो हुन आवश्यक रहेको बताउँदै उहाँहरुले सुकुम्बासीलाई ऐलानी जमिनमा बसाउने व्यवस्था मिलाउन माग गर्नुभयो ।
युवालाई रोजगार सुनिश्चित गर्न तथा सूचना प्रविधिको विकास, कृषिको आधुनिकीकरण, सबै जनतामा स्वास्थ्य सेवाको पहँुच विस्तारमा पनि उहाँहरुले जोड दिनुभयो । मुलुकमा उद्योगधन्दाको विकास गरी लाखौँ लाख बिदेसिन बाध्य भएका युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिन सरकारले बजेटमा किटानका साथ कार्यक्रम घोषणा गर्न नसकेकामा उहाँहरुको असन्तुष्टि थियो । खेलकुदका माध्यमबाट पनि युवा जनशक्तिलाई अनुशासित तुल्याउन राज्यले विशेष ध्यान पुर्याउन सक्नुपर्ने उहाँहरुको धारणा थियो ।
आजको छलफलमा सांसद नारायणमान बिजुक्छे, बहादुरसिंह तामाङ, आदित्यमान कसौधन, कृष्ण धिताल, लीलादेवी श्रेष्ठ, धनबहादुर रायमाझी, चम्पादेवी खड्का, गुरुप्रसाद बुर्लाकोटी, सूर्यप्रकाश राईलगायतले भाग लिनुभएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक भोलि असार १६ गते बिहान ११ बस्ने छ । रासस













प्रतिक्रिया