२८ आश्विन २०८३, बुधबार

अफगानिस्तानमा गस्तीमा रहेका प्रहरीमाथि गोली हानी तीन जनाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

afghanisthan-map

अफगानिस्तान, २९ साउन । अफगानिस्तानको पूर्वी प्रान्त लाघमानमा बिहीबार तीन जना प्रहरीको गोलीहानी हत्या गरिएको समाचार छ ।

प्राप्त समाचारअनुसार बिहीबार बिहान सो प्रान्तमा नियमित गस्तीमा रहेका प्रहरीमाथि गोली हानी तीनजनाको हत्या गरिएको हो ।

साथै उक्त आक्रमणका कारण अरु पनि कम्तीमा चार जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

नियमित गस्तीमा रहेका ती प्रहरीमाथि तालिवानले नै आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि उक्त हत्याको जिम्मा भने कसैले लिएको छैन ।

हाल अफगानिस्तानमा शान्ति सुरक्षाको जिम्मा त्यहीको राष्ट्रिय सेना र प्रहरीलाई दिइएको छ । यद्यपि त्यहाँ अहिले पनि करिब ३५ हजार नेटो सैनिक रहेका छन् ।

त्यसैकारण पछिल्ला दिनहरूमा अफगानिस्तानमा तालिवान विरुद्धको कारबाहीमा पनि अफगान सुरक्षा बलकै सहभागिता रहँदै आएको छ । पछिल्ला समयामा तालिवानले ती सेना र प्रहरीमाथि हमला गर्दै आएका छन् ।

पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीव्र पारेका छन् ।

उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको छ । सेना र अफगान प्रहरीले गरेको तालिवान विरुद्धको कारबाहीमा हिजोमात्र पनि कम्तीमा ८० जना तालिवानको ज्यान गएको थियो ।

तर अफगानिस्तानमा सन् २०१४ पछिको सुरक्षाको भविष्यका बारेमा भने चिन्ता व्यक्त गर्ने गरिएको छ । यसै वर्षको अन्त्यसँगै अफगानिस्तानबाट नेटो सैनिक हटिसक्ने भएकाले पनि सो चिन्ता व्यक्त गर्न थालिएको हो । सिन्ह्वा