२८ आश्विन २०८३, बुधबार

पत्रकार महासंघको नयाँ नेतृत्वलाई एमालेको बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNJ-Team-Balkhu

काठमाडौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित नेतृत्वलाई प्रेसमैत्री संविधान बनाउन सहयोगी भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

नयाँ नेतृत्वलाई बधाई दिन एमाले पार्टी मुख्यालय मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष खनालले आफ्नो पार्टी प्रेसमैत्री संविधान बनोस् भन्ने पक्षमा रहेको भन्दै पत्रकार जगत्ले त्यसमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सिंगो मुलुकलाई एकताबद्ध बनाएर लैजान र जनतालाई सुसूचित गराउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले पेसागत संस्थालाई साझा संस्थाका रुपमा विकसित गर्न नयाँ नेतृत्वले भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।

एमालेका प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले पूर्ण प्रेस स्वतन्त्रताका लागि एमाले प्रतिबद्ध भएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष खनालले महासङ्घका नवनिर्वाचित अध्यक्ष डा महेन्द्र विष्टलगायत पदाधिकारी र सदस्यलाई बधाई दिँदै सम्मान गर्नुभयो । यस्तै निवर्तमान अध्यक्ष शिव गाउँलेलाई पनि सम्मान गरियो ।

सोमबार राति सम्पन्न महासंघको महाधिवेशनबाट प्रेस चौतारीका उम्मेदवार बनेका डा विष्ट ८०८ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी पोषण केसीले ७०७ मत प्राप्त गर्नुभएको थियो । विष्टलाई प्रगतिशील प्यानलले समर्थन गरेको थियो ।