९ कार्तिक २०८३, सोमबार

पार्टी कार्यालय किन जाँदैनन् कांग्रेस नेता ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-6-660x330काठमाडौं, ७ असार । कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न भएको चार महिना भएको छ । तर, सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सुनसान छ ।

पार्टी पदाधिकारीका साथै अन्य नेताहरूसमेत केन्द्रीय कार्यालय जाँदैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । विधानतः नयाँ कार्यसमिति गठन भएको दुई महिनाभित्रै बाँकी सदस्य र विभागहरू गठन भइसक्नुपर्नेमा अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन ।

अझै ११ केन्द्रीय सदस्य र तीन पदाधिकारी मनोनीत गर्न बाँकी छ । सदस्य मनोनयन र विभाग गठन नभएकाले अन्य नेता तथा कार्यकर्ताहरू शीर्ष नेताकै निवासमा बढी जाने गरेका छन् ।

सभापति भएको चार महिनामा देउवा तीनपटक केन्द्रीय कार्यालय पुगेका छन् । जिल्ला दौडाहा र पार्टी बैठकबाहेक देउवा बुढानीलकण्ठको आफ्नै निवासमा नेता–कार्यकर्ता भेट्छन् ।

भेटका लागि उनले बिहान ८ देखि ११ र बेलुका ३ बजेदेखि साँझसम्मको समय छुट्याएका छन् । उनका सहयोगी भानु देउवाका अनुसार एक दिनमा झन्डै डेढ सय नेता–कार्यकर्तासँग उनी भेट गर्छन् । अब छिटै देउवाले पार्टी कार्यालयमा नियमित कार्यकर्तालाई भेटघाट गर्ने उनको सचिवालयले तयारी गरेको छ ।

महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बिहानैदेखि भीड लाग्छ । पूर्वसभापति सुशील कोइराला बसेकै घरमा महामन्त्री शशांक बस्दै आएका छन् । आवतजावतमा सहज हुने भएकले पनि नेता–कार्यकर्ता शशांकनिवासमा बढी पुग्छन् । महामन्त्री भएपछि पाँचपटक मात्र केन्द्रीय कार्यालय सानेपा पुगेका शशांकले छिटै केन्द्रीय कार्यालयमै भेटघाट गर्ने तयारी गरेका छन् ।

१३औँ महाधिवेशनमा सभापतिमा पराजित भएका नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय जाने तालिका बनाएका छन् । काठमाडौं हुँदा दिउँसो २ देखि ५ बजेसम्म कार्यालय पुग्ने तालिका रहेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । तर, उनको निवास बोहोराटारमा बिहानैदेखि नेता–कार्यकर्ताको भीड लाग्छ । बिहान सवा ६ देखि ११ बजेसम्म भेटघाटको समय छुट्याएका छन् । उनीहरूले पार्टीका आन्तरिक समस्याका साथै जागिर, सरुवा, विकास निर्माण योजना पारिदिन आग्रह गर्छन् । यसअघि उपसभापति हुँदा पौडेल अरू नेताको तुलनामा नियमितजसो केन्द्रीय कार्यालय सानेपा पुग्थे ।

कांग्रेस केन्द्रीय कार्यालयले सुशील कोइराला प्रधानमन्त्री भएका वेला प्रधानमन्त्रीसहित सरकारमा सहभागी कांग्रेस मन्त्रीका लागि भेटघाटको समय तालिका नै मिलाइएको थियो । तर, त्यतिखेर प्रभावकारी रूपमा मन्त्रीहरूले तालिकालाई फलो नगरेको केन्द्रीय कार्यालयका कर्मचारी बताउँछन् । ‘पार्टी कार्यकर्ता र सर्वसाधारणको गुनासो सुन्न मन्त्रीहरूका लागि केन्द्रीय कार्यालय आउने तालिका बनाइयो,’ एक कर्मचारी भन्छन्, ‘केही मन्त्री आउनुभयो, तर धेरैले बेवास्ता गर्नुभयो, आएकाले पनि नियमितता देखाउनुभएन ।’