९ कार्तिक २०८३, सोमबार

नक्कली डाक्टर छोप्न यसरी भयो अनुसन्धान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nakkali Doctorकाठमाडौं, ६ असार । प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ ।

हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् ।

उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्, ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ ।’

यसरी भयो अनुसन्धान

पहिलोपटक सिआइबीले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा)मा धेरैपटक फेल भएकालाई छानेर अनुसन्धान गरेको थियो । जसमा १७ जना पक्राउ परे भने केही फरार भए । यसपटक भने बिहारबाट आइएस्सी पढेकामाथि अनुसन्धान गरेको थियो । पक्राउ परेकामध्ये चारजनाले नेपालमै एमबिबिएस अध्ययन गरेका हुन् भने ३३ जनाले विदेशमा पढेका छन् । विनिता मण्डलले नेपाल मेडिकल कलेज जोरपाटीबाट एमबिबिएस, श्रीराम घिमिरेले युनिभर्सल मेडिकल कलेजबाट, इशादुल हक त्रिविको आइओएम, दिनेश साहले कलेज अफ मेडिकल साइन्स भरतपुरमा एमबिबिएस गरेका हुन् । त्रिविमा डाक्टर पढ्न प्रवेश परीक्षामा उत्कृष्ट हुनुपर्छ । तर, आइएस्सीको प्रमाणपत्रसमेत नक्कली भएकाले प्रवेश परीक्षामै चलखेल भएको आशंका गरिएको छ । भारत, युक्रेन, रसिया, बंगलादेश, चीन, काजगिस्तान र पाकिस्तानबाट एमबिबिएस तथा बिडिएस पढेकाहरू पक्राउ परेको सिआइबीले जनाएको छ ।