काठमाडौं, २० साउन । नयाँदिल्लीबाट विशेष विमानमा नेपालका लागि उनी उड्दा नेपाली अधिकारीहरू स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेका थिए । आइतबार बिहान १०:५० बजे काठमाडौं विमानस्थलमा उत्रिएलगत्तै देश मोदीमय भइ सकेको थियो । संचारमाध्यमहरूले सिन्धुपाल्चोकको पहिरो बिर्सिएर मोदीको ‘लाइभ’ सुरु गरे । नेपाली मात्र होइन, भारतीय टेलिभिजन ‘आजतक’ लगायतले मोदी भ्रमणको काठमाडौंबाट प्रत्यक्ष प्रसारण गरेका थिए । १७ वर्षपछि भारतबाट हुन गइरहेको भारतीय प्रधानमन्त्रीको भ्रमणमा स्वागतका लागि प्रधानमन्त्री सुशील कोइरालासहित अधिकांश मन्त्रीहरू विमानस्थल पुगेका थिए ।
मोदीका लागि एक घन्टाअघिदेखि नै सडक खाली गराइएको थियो । जब उनी बुलेटब्रुफ बीएमडब्लु चढे, सडकमा मात्र होइन हेलिकप्टरबाट समेत सेनाले हवाईगस्ती र रेकी गर्यो । करिब १२ बजेको समयमा मोदी बौद्धस्थित हायात होटलमा पुगे । होटल पुगेपछि पहिलो काम आफ्ना धर्मपुत्र जितबहादुरलाई परिवारसँग मिलन गराउनु थियो । नेपालीहरूको मन जित्न उनले अपनाएको यो पहिलो तरिका थियो । जितबहादुरको परिवारसँग मिलन गराएपछि करिब एक घन्टा दुतावासका अधिकारीको ब्रिफिङ र आराममा बिताए । त्यसपछि दिउसो १ बजे सिंहदबार पुगे ।
सिंहदरबारबाट फर्कने क्रममा उनी अचानक बानेश्वरमा झरे । बाटो छेउमा बसेका सर्वसाधरणसँग हात मिलाउदै नेपालीमा कुरा गरेर राजनेताको छवी देखाए । केही समय पैदल नै हिडे । सुरुमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसँग वान टु वान वार्ता गरेका उनले प्रधानमन्त्री कार्यालयमा पुगेर तीन वटा सम्झौतामा हस्ताक्षर गरे । जसमा वर्षाैदेखि थाती रहेको पंचेश्वर बहुउदेश्यीय आयोजना अघि बढाउने कुरा प्रमुख थियो ।
त्यसपछि उनी नयाँबानेश्वरस्थित संसद भवनमा पुगे । जहाँ उनले आफ्नो जादु चलाए । सुरुका चार मिनेट उनले नेपालीमा भाषण गरे । जून लिखित रुपमा तयार बनाइएको थियो । त्यसपछि उनले नेपाल भारत सम्बन्धको बारेमा धाराप्रवाह सुरु गरे ।
करिब ४५ मिनेट लामो भाषणमा उनले नेपालको बारेमा अलिकति पनि नकारात्मक कुरा बोलेन्न । बरु नेपाल र भारतबीचको सम्बन्ध गंगा र हिमालयजस्तै पुरानो रहेको भन्दै यसलाई मजबुत बनाउन जोड दिए । नेपालको सम्भावनाको बारेमा उनले सभासद्लाई सपना देखाए । संविधानको महत्व बुझाए । भारतले कहिल्यै नेपाललाई नहेप्ने भन्दै नेपाल भारतसम्बन्ध एकदमै पारस्पारिक र भाइचाराको हुने भन्दै बिश्वस्त बनाए । उनले यसरी भाषण गरेको उनका हरेक जस्तो वाक्यमा सभासद्ले ताली बजाएका थिए । उनको भाषणपछि सामाजिक संजालहरूमा मोदीको जयजयकार भइसकेको थियो । उनको भाषणपछि सेतोपाटी अनलाइनले ‘संसदमा मोदीको जादु’ भन्दै समाचार सम्प्रेषण गर्यो । भारतीय मिडियाहरूले त्यस्तै गरी मोदीले नेपालसँगको सम्बन्धमा नयाँयुगको सुरुवात गरेको बिश्लेषण गरे । संसदमा भाषण सकेपछि सय भन्दा धेरै सभासद्सँग हात मिलाउदै उनी त्यहाबाट बाहिरिए । त्यसबेला करिब साढे पाँच भइसकेको थियो । हायात होटलमा भारतीय दूतावासले भोजको आयोजना गरेको थियो । जसमा झन्डै तीन सय आगन्तुकहरू बोलाइएका थिए ।
करिब सात बजेसम्म त्यहाँ रहने बताइएपनि उक्त भोजमा उनले आठ बजाए । आठ बजे नेपाल सरकारले उनको सम्मानमा आयोजना गरेको भोजमा भाग लिन मोदी सोल्टी होटल लागे । त्यहाँबाट फर्कदा बेलुकाको ११ बजिसकेको थियो ।
सोमबार बिहान पशुपतिनाथको दर्शनबाट नेपाल यात्राको दोस्रो तथा अन्तिम दिनको सुरुवात गरे । करिब एक घन्टा लगाएर उनले पशुपतिमा पूजा गरे । दर्शन गरेर केही समय पैदल हिडेपछि उनी होटल फर्किएका थिए । त्यसपछि शीतलनिवासमा राष्ट्रपति डा.रामवरण यादबसँग उनको भेटघाट गरे । राष्ट्रपति यादबले समेत आइतबार संसदमा गरेको भाषणको प्रशंसा गरे । शीतलनिवासले उनलाई दिवाभोज दिएको थियो ।
शीतलनिवासबाट करिब एक बजे होटल फर्किएका उनले त्यसपछि राजनीतिक भेटघाट गरेका थिए । भेटघाटको पहिलो सूचीमा एमाले अध्यक्ष केपी शर्मा ओली थिए । ओलीलाई अध्यक्ष भएकोमा मोदीले बधाई दिए । ओलीले पनि मोदीलाई धन्यवाद दिँदै नेपाल भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनमा जोड दिएका थिए ।
त्यसपछि माओवादी अध्यक्ष प्रचण्डसँग उनले भेटेका थिए । युद्ध त्यागेर शान्तिको बाटोमा आएकोमा प्रचण्डलाई उनले धन्यवाद दिए । प्रचण्डपछि राप्रपा अध्यक्ष, कमल थापा, मधेसी दलका नेताहरू तथा व्यापारीहरूसँग उनले भेटेका थिए । त्यतिबेला करिब चार बजेको थियो । भेटघाट सकिएपछि सवा ५ बजे उनी एयरपोर्ट पुगे । बिदाईका लागि पनि प्रधानमन्त्री कोइराला विमास्थल पुगेका थिए । स्वागतमा जस्तै बिदाईमा पनि नेपाली सेनाले १९ तोप पड्कायो र मोदीको बिदाई गर्यो । उनको विमान नयाँदिल्लीका लागि उड्दाखेरी करिब ५:४० भएको थियो । यसरी मोदीले आफ्नो ३० घन्टे नेपाल यात्रा पूरा गरे ।
मोदीको भ्रमण नेपालीका लागि अविस्मरणीय बन्यो । किनभने, नेपाललाई नजिकबाट नियालेर हरेक नेपालीको मनमा सजिन उनी सफल भए । भारतीय प्रधानमन्त्रीका रुपमा नेपाल आएका उनको नेपाल बसाई क्रममा बाटो हिंड्नेहरूले धेरै नै दु:ख, कष्ट पाए पनि संविधानसभा हलमा पुग्नुपूर्व उनी गाडीबाट ओर्लिएर सडकमा लामवद्ध नेपाली जनतासँग हात मिलाउँदै जुन आत्मीयता देखाए, त्यसले नेपालीको दु:खकष्ट पनि हरण गर्यो । जनताका नेता भनेको यस्तो हुनुपर्छ भन्ने शिक्षा दियो । वास्तवमा मोदीको ३० घण्टे नेपाल बसाईले नेपाल–भारतबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ । ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधिका बारेमा मोदीले नेपाललाई धेरै सुझाव सल्लाह दिएका छन् । भावी दिनमा नेपालले त्यसलाई कार्यान्वयन गर्न सक्यो भने ‘नयाँ नेपाल’ बनाउन धेरै समय लाग्ने छैन ।














प्रतिक्रिया