२८ आश्विन २०८३, बुधबार

पर्यटक बढेपछि धौलागिरी बेसक्याम्प जान पदमार्ग बन्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

000

प्रताप बानियाँ
म्याग्दी, साउन २० । पछिल्लो समय म्याग्दीमा पर्यटकहरुको संख्या बढ्दै गएपछि धौलागिरी बेसक्याम्प जाने पदमार्गको निर्माण गरिएको छ ।

जिल्लाको उत्तर–पश्चिम भेगको मुदी गाविसमापर्ने राउण्ड धौलागिरी बेस क्याम्पका लागि सो पदमार्ग निर्माण गरिएको हो ।

पश्चिम म्याग्दीको विम–मराङ–मुदी हुँदै धौलागिरी बेसक्याम्प पुग्ने धौलागिरी पर्यटन पदमार्गको निर्माण सम्पन्न भएको छ ।

गत आर्थिक वर्ष २०७०/७१ मा जिल्लालाई प्राप्त पर्यटन रोयल्टीवापत तीनलाख रुपैयाँको लागतमा उक्त पदमार्गको निर्माण गरिएको जिल्ला विकास समितिको कार्यालय म्याग्दीले जनाएको छ ।

उपभोक्ता समिति निर्माण गरी गत वर्षको कार्तिक महिनाको २० गतेबाट पदमार्गको निर्माण कार्य शुरु गरी चैत महिनामा सम्पन्न गरिएको समितिका अध्यक्ष ज्ञानबहादुर घर्तीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७०÷७१ मा म्याग्दी जिल्लालाई प्राप्त २० लाख पर्यटन रोयल्टीमध्ये धौलागिरि बेस क्याम्पसम्म पुग्ने पदमार्ग निर्माणका लागि ३ लाख, धौलागिरि आइसफलका लागि ५ लाख, बेसक्याम्पसम्म पुग्ने पुल निर्माणका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको म्याग्दीका स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जानकारी दिएका छन् ।

पदमार्ग निर्माण गर्न समुदायले १० प्रतिशत जनश्रमदान गरेका छन् । त्यसैगरी मुदीका आमा समूहले पनि पदमार्गमा लगानी गरेको बताइएको छ । पदमार्ग निर्माण भएपछि पर्यटक, स्थानीय र बटुवालाई आवतजावत गर्न सजिलो भएको चन्द्रज्योति मा.वि. मुदी खिवाङका शिक्षिका थमसरा पुनल बताउनुभयो ।

पदमार्ग निर्माणले मोटरबाटो नपुगेका मराङ, मुदी र लुलाङ गाविसमा खच्चडको सहयोगमा मालसामान ढुवानी गर्नसमेत सहज भएको स्थानीयले बताएका छन् ।

पदमार्ग निर्माण भएपछि पश्चिमी भेगका तीनवटै गाविसका जनता प्रत्यक्ष लाभान्वित भएका छन् । बजेट अभावमा तत्कालका लागि ट्र्याक मात्र खोलिएकोले यसलाई व्यवस्थित बनाउन थप बजेटको आवश्यकता रहेको समितिले बताएको छ ।

धौलागिरि बेसक्याम्प जानका लागि म्याग्दी सदरमुकाम बेनीबजारदेखि मुदी–बगरा–दोभान–सल्लेरी–इटाली–जापानीज बेसक्याम्प हुँदै धौलागिरि बेसक्याम्पमा पुगिन्छ ।

सो बेसक्याम्पमा पुग्न बेनीदेखि ७ दिनको पैदलयात्रा गर्नुपर्ने हुन्छ, त्यसपछि धौलागिरी हिमालमा पुगिन्छ ।