काठमाडौं, १९ साउन । दुईदिने नेपाल भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा गरेको सम्वोधनमा आफूलाई अशोक सम्राटको भूमिकासँग तुलना गरेको स्मरण गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले मोदीलाई धन्यवाद दिनुभएको छ ।
सोमबार अपरान्ह हायात होटलमा मोदीसँगको भेटमा प्रचण्डले मोदीले नेपालको शान्ति प्रक्रियालाई गहिरो र गम्भीरतासँग बुझिदिएकोमा पनि धन्यवाद दिनुभएको थियो ।
भेटमा प्रचण्डले मोदीका भनार्इ अत्यन्तै सकारात्मक रहे पनि भारतीय संरचनाप्रति भने आशंका प्रकट गर्नुभएको थियो ।
त्यसैगरी प्रचण्डले मोदीले नेपाल भ्रमणका क्रममा नेपालीको मन र मष्तिष्क दुबै जितेको बताउनु भएको थियो ।
भारतबाट नेपालका सम्बन्धमा हुँदै आएको गैर राजनीतिक भूमिकाबाट आक्रान्त भइरहेका बेला मोदीको पहलले नेपाल भारत सम्बन्धलाई राजनीतिक स्तरमा वृद्धि गर्ने सम्भावना बढेको पनि प्रचण्डले भेटमा मोदीलाई जानकारी गराउनु भयो ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार भेटमा प्रचण्डले हुलाकी राजमार्ग, मध्य पहाडी लोकमार्ग र जलविद्युत विकासमा भारतीय सहयोग हुनुपर्ने भन्दै कालापानी र सुस्ताको सीमा समस्याका विषमा पनि कुरा उठाउनु भएको थियो ।
भेटमा भारतीय प्रधानमन्त्री मोदीले पनि प्रचण्डलाई सामान्य नभएर उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । मोदीले नेपाल भारत सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउने आश्वासन पनि दिनुभएको थियो ।
भेटमा प्रचण्डका साथै डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया