प्रकाश सिलवाल
काठमाडौँ, १८ साउन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदी आगमनको तस्बिर लिन तम्तयार फोटो पत्रकारलाई सुरक्षाकर्मीले एउटा कुनामो स्थान निर्धारण गरेका थिए । त्यस कुनामा पनि नअटेका फोटो पत्रकार र संवाददतालाई सूचना केन्द्रपट्टिको भागमा उभिन भनिएको थियो ।
उच्च सुरक्षा दिइएको मोदी भ्रमणको हरेक क्षणलाई कैद गर्न उद्दत पत्रकारले टाढाबाट सकेसम्म उहाँको दृष्य राम्रोसँग लिन सकिन्न कि भन्ने चिन्ता व्यक्त गरेका थिए । यस विषयमा केहीबेर कसरी व्यवस्थापन गर्ने भनेर सुरक्षाकर्मी र पत्रकारबीच छलफल चलेको थियो ।
जब अपराह्न २:३३ बजे मोदी प्रधानमन्त्री कार्यालयमा आइपुग्नुभयो । कारगेडसहितको उहाँको गाडी नेपाल र भारतका सादा पोसाकका सुरक्षाकर्मीले घेरा हाले । मोदी ओर्लिएर कार्यालय प्रवेश गर्ने मूल ढोकामा पुगी पछाडि फर्केर हात हल्लाएर अभिवादन गरेपछि पत्रकारले खोजे जस्तै भयो । ‘वाह, यस्तो पो प्रधानमन्त्री÷नेता’ भन्दै उनीहरूले त्यो दृष्य कैद गरे । त्यहाँ पत्रकारबाहेक कर्मचारी र अन्य व्यक्ति पनि थिए । कतिपयले कृपया पुनः एक पटक (वान्समोर, वान्समोर प्लिज) र कतिपयले मोदीलाई धन्यवाद प्रधानमन्त्रीज्यू (थ्याङ्क्यु प्राइमिनिस्टर) पनि भने ।
प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्दा मात्र होइन फर्कँदा पनि मोदीले पत्रकार र उपस्थितलाई हात हल्लाएर अभिभावदन गर्नुभयो । उहाँको अभिवादनलाई ग्रहण गर्दै ताली बज्न थालेपछि उहाँले दुवै हातले उत्साहित हुँदै अझै अभिवादन गर्नुभयो । यहाँसम्म कि अर्थ मन्त्रालयको माथिल्ला तलाबाट झ्यालबाट हेरिरहेका कर्मचारीलाई पनि माथि हेरेर हात हल्लाउनुभयो । त्यसपछि मोदीले थप ताली पाउनुभयो ।

शारीरिक हाउभाउमा पोख्त देखिनुभएका प्रधानमन्त्री मोदीले आफ्नो भ्रमणका अवसरमा प्रकाशित संस्मरणात्मक टिकटको प्रथम दिवसीय टाँचामा लगाउने विशेष समारोहमा पनि मोदीको सक्रियता देखिएको थियो । टाँचामा दुवै प्रधानमन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम थियो । हस्ताक्षर सकेपछि मोदी पहिला उठेर प्रधानमन्त्री सुशील कोइरालालाई उठ्न सङ्केत गर्दै उठाउनुभयो र सो टिकट आदानप्रदान भयो ।
सिंहदरबारबाट नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा पुग्दा भवनको परिसरबाट पैदल हिँंडेर सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा जाने क्रममा पनि उहाँले सभासद् र उपस्थित व्यक्ति तथा सडकबाट हेरिरहेका सर्वसाधारणलाई मुस्कानसहित हात हल्लाएर अभिवादन गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि स्वागतमा रहनुभएका प्रधानमन्त्री कोइलालले पुष्प उपहार दिन नपाउँदै भारतीय प्रधानमन्त्री मोदीले ‘नमस्कार’ गरेर आफ्नो भावनात्मक प्रगाढता दर्शाउनुभएको थियो ।
आइतबार बिहान काठमाडौंँ आइपुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीले व्यवस्थापिका–संसद्लाई सम्बोधनका क्रममा पनि आफ्नो उत्साह र सक्रियता प्रदर्शन गर्नुभयो । उहाँले लिखित /अलिखित तथा कुन भाषामा सम्बोधन गर्ने हो भन्ने जिज्ञासाका बीच उहाँले सुरूका केही समम नेपालीमा सम्बोधन गरेर सभासद् र टेलिभिजनमा प्रत्यक्ष अवलोकन गरिरहेका दर्शकको ध्यान खिच्नुभयो ।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलका कारण नेपाल विश्वमै चर्चित भएको सन्दर्भ उल्लेख गर्दा सभासद्ले तालीको गडगडाहट गर्नुभएको थियो । यदाकदा बुद्ध नेपालमा जन्मेका होइनन् भन्ने अनावश्यक प्रचार गराइने प्रवृत्ति तोड्न मोदीको उक्त अभिव्यक्ति उपल्लोस्तरको जवाफ साबित भयो ।
मोदीले नेपालको शान्ति प्रक्रियाको प्रशंसासहित युद्धबाट निर्वाचनमा आएकामा पनि आभार व्यक्त गर्नुभयो । उहाँको सो भनाइप्रति प्रशंसा गर्दै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया पनि व्यक्त भएका छन् ।
सम्बोधनपछि सभासद्को स्थानमा पुगेर प्रधानमन्त्री कोइराला, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत विभिन्न दलका शीर्ष नेतासँग उहाँले हात मिलाउनुभएको थियो । रासस














प्रतिक्रिया