२८ आश्विन २०८३, बुधबार

कमलपित्तका कारण पाँचको मृत्यु, छ सयभन्दा बढी बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morang_districtविराटनगर । विराटनगर उपमहानगरपालिका क्षेत्रमा डेढ हप्तादेखि फैलिएको कमलपित्त रोगबाट पाँच जनाको मृत्यु भएको छ ।
प्रदूषित पानी, बासी एवम् अस्वस्थ्यकर खाद्य पदार्थ प्रयोग तथा प्रतिकूल मौसमका कारणले फैलिएको सो रोगबाट विराटनगरमा ६०० भन्दा बढी बिरामी भएका छन् ।
सरकारी, गैरसरकारी र निजी क्लिनिकबाट प्राप्त जानकारीअनुसार पेटसम्बन्धी रोग जचाउने आउने १० मध्ये सात जनामा जाँच गर्दा कमलपित्त रोग फेला परेको बताइएको छ । रोगको बढ्दो प्रकोपका कारण जनसमुदाय त्रसित भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार विराटनगर वडा नम्बर १५, १३, ११, १०, ७, ६, २ र १ मा बढी रोगी फेला परेको जनाइएको छ ।

सो रोग १५ देखि ४० वर्ष उमेरका व्यक्तिमा बढी देखापरेको छ । खानेपानी संस्थानद्वारा उपलब्ध गराइएको पानीको प्रयोगका कारण रोग लागेको आरोप लगाउँदै विराटनगरका अधिकांश घरपरिवारले संस्थानको पानी खान छोडेर ट्युबवेल र मिनरल वाटरको बोतल र जारको पानी खरिद गरी खाने गरेका छन् ।

विराटनगरमा मिनरल वाटरको पानीको अभाव भएकाले काठमाडौं र भारतबाट आयात गरी महँगो मूल्यमा व्यापारीले बिक्री वितरण गरेको गुनासोसमेत पाइएको छ ।

यसैबीच जनस्वास्थ्य कार्यालयले खानेपानी संस्थान र बिरामीले प्रयोग गर्ने घरको पानीका छ नमुना सङ्कलन गरी मोरङ व्यापार सङ्घको सिमेन ल्याब र ११ नमूना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएको बताइएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको एक टोलीले आज (आइतबार) देखि जनस्वास्थ्य कार्यालयका पदाधिकारी, चिकित्सकसँग छलफल र बिरामीको अवस्थासम्बन्धी जानकारी लिन सुरु गरेको छ ।