गाजा, १६ साउन । इजरालद्वारा जारी राखिएको आक्रमणको क्रममा गाजा पट्टिमा आज शुक्रबार बिहान सबेरै १६ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।
ती व्यक्तिको मृत्यु भएपछि गाजा पट्टिमा मारिने नागरिकको सङ्ख्या एक हजार ४ सय ६५ पुगेको चिकित्सक स्रोतले जनाएका छन् । इजरायलले गरेको भनिएको ७२ घण्टे युद्धविरामको केही क्षणमात्र अघि शुक्रबार सो हमला भएको हो ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार दक्षिणी गाजा पट्टिको कानायुनी सहरमा सो हमला गरिएको थियो । उक्त हमलामा परी आठजनाको ज्यान गएको बताइएको छ ।
इजरायली हवाई आक्रमणमा उनीहरुको ज्यान गएको बताइएको छ । मारिनेमा दुई जना युवक पनि परेका छन् ।
त्यसैगरी दक्षिणी गाजा पट्टिको खानयुनिसमा इजरायलीतर्फबाट भएको गोली प्रहारमा सातजनाको मृत्यु भएको बताइएको छ ।
खानयुनिस्मै इजरायालीे हजाई आक्रमणबाट घाइते भएका अर्का एकजना प्यालेस्टिनी पुरुषको पनि मृत्यु भएको बताइएको छ । त्यहाँ मारिनेमा एक बालक पनि परेका छन् ।
गत जुलाई ८ बाट इजरायलले गाजामा जारी राखेको आक्रमणको क्रममा एक हजार ४ सय ६५ व्यक्तिको मृत्यु हनुको साथै अन्य आठ हजार भन्दा बढी घाइते भएका छन् ।
यस आक्रामक आक्रमणमा केही इजरायली नागरिकसहित इजरायलका र कयौं सैनिकको पनि मृत्यु भएको अर्को एक समाचारमा जनाइएको छ ।
गएको जुलाई ८ देखि इजरायलले गाजामा सुरु गरेको हमलाका क्रममा इजरायलतर्फका नागरिकको पनि ज्यान गएको छ । सो क्रममा चारजना इजरायली गैरसैनिक र ५३ जना सैनिक मारिएका छन् ।
संयुक्त राष्ट्रसंघ, अमेरिका तथा विश्वका कयौं देशले दुवै पक्षलाई युद्धविरामका लागि आग्रह गरेका छन् । विगतका पनि इजरयालले २४ घन्टे युद्धविराम गरेको थियो । तर त्यस समयमा पनि आक्रमण भने रोकिएको थिएन ।
इजरायलले शुक्रबार बिहानदेखि ७२ घन्टे युद्धविराम गरेको जनाएको छ । तर यस युद्धविरामको समयमा पनि यसअघिको जस्तै बम हमलाहरु नरोकिन पनि सक्ने आशङ्का गरिएको छ । सिन्ह्वा














प्रतिक्रिया