२८ आश्विन २०८३, बुधबार

प्यूठान रोल्पा सडक ठाउँमा भत्कन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalo-Patre-Sadakरोल्पा । रोल्पा–प्यूठान सडकखण्डअन्तर्गत कालोपत्रे गरिएको सडक विभिन्न ठाउँमा भत्किएपछि सवारीसाधनलाई आवतजावत गर्न असहज भएको छ ।

प्यूठानको चकचकेबाट रोल्पाको सदरमुकामसम्मको ६३ किलोमिटर सडकको विभिन्न ठाउँमा ठल्ठूला खाल्डो परेका छन् भने केही ठाउँमा त कालोपत्रे गरिएको सडकको अस्तित्व नभेटिने अवस्थामा पुगेको छ । यस्तो समस्या खासगरी सदरमुकाम आसपासकै क्षेत्रमा बढी देखिएको छ ।

सडकको भार बहन क्षमताभन्दा बढी भएका मालवाहक ठूला गाडीसमेत यो सडकमा गुड्ने गरेका पाइन्छ । सिधा बाटोभन्दा पनि घुम्तीहरुमा कालोपत्रे गरिएको सडक कच्चीबाटो जस्तै भएपछि सवारीसाधनलाई ओहरदोहर गर्न अप्ठ्यारो भएको सवारी चालकहरुको गुनासो छ । सानो घुम्ती, त्यसमाथि भत्केको सडकको दुर्दशाका कारण दुर्घटना हुन सक्ने खतरा बढेको उनीहरुको गुनासो छ ।

आर्थिक वर्ष २०६६/६७ मा दाङको भालुबाङबाट प्यूठानको चकचकेसम्मको ६७ किलोमिटर सडक र यो सडक एकै समयमा कालोपत्रे गरिएको भए पनि चकचकेबाट रोल्पा सदरमुकामसम्मको सडक भने धेरै भत्किएको छ ।

करिब ६५ करोडमा कालोपत्रे गरिएको यो सडक भर्खरैमात्र हस्तान्तरण गरिएको हो । तर सडकको अवस्थाबारे सम्बन्धित निकायको खासै ध्यान नपुगेको भन्दै यसको मर्मत सम्भारतर्फ चासो देखाउन स्थानीयवासीले सुझाएका छन् ।

कमसल साम्रगी प्रयोग भएको कारणले पनि छिटो भत्केको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन् । यता सडक डिभिजन प्रमुख नरेन्द्र सुवेदीले भने वातावरणीय अनुकूलतामा लैजानुपर्ने भएकाले कुनै ठाउँमा कालोपत्रे प्रविधिले त्यति काम नगरेको हुन सक्ने बताए ।

टेन्डर प्रक्रिया अगाडि बढेकाले तत्काल मर्मतअन्तर्गत सानासाना भत्किएका ठाउँमा मर्मतको काम भइरहेको उनले बताए ।

पाँच वर्षको अन्तरालमा मर्मत गर्नुपर्ने भए पनि त्योभन्दा अगाडि नै सडक नै जीर्ण हुने गरी कालोपत्रे भत्किन थालेपछि सबैले हैरानी बेहोर्नु परेको छ ।