बाँके । नेपालगन्ज नाकामा नेपाल–भारत एकीकृत जाँच चौकी निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ ।
चौकीमा दुवैतर्फ भन्सार, क्वारेन्टाइन, सुरक्षा अध्यागमन लगायतका संरचना निर्माण हुने छन् । चौकी निर्माणपछि स्थानियवासीलाई एकै थलोबाट सेवा लिन सहज हुने र यसले आर्थिक पारदर्शिता तथा राजस्वमा पनि वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने चौकीका लागि आवश्यक जग्गा अधिग्रहण, मुआब्जा वितरण र सुरक्षा ब्यारेक निर्माणको काम सकिएको छ । अब चौकी निर्माणको काम अघि बढ्ने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बताए ।
जग्गामा पुग्ने बाटोका लागि ट्र्याक खोल्ने कामसमेत भइरहेको छ । प्रमुख भण्डारीका अनुसार जिल्लाको परसपुर र जयसपुरमा जाँच चौकी निर्माणका लागि ९० बिघा जग्गामा रहेको ५६८ कित्ता जग्गा अधिग्रहण गरी ५४१ कित्ताको मुआब्जा वितरण भइसकेको छ । जग्गा अधिग्रहणको कामपछि अहिले जग्गा सुरक्षाका लागि तारबारको ठेक्कासमेत भइसकेको छ ।
नेपाल सरकारले जाँच चौकी निर्माणमा २०६६ साल यता नौ करोड ३९ लाख विनियोजन गरेकामा अहिलेसम्ममा नौ करोड चार लाख रुपियाँ खर्च भइसकेको छ । जाँच चौकीलाई भारतीय रेल्वेले पनि छुनेछ ।











प्रतिक्रिया