– कल्पना बोहरा
अछाम, २१ फागुन । अछाम जिल्लामा भीरबाट खसेर दुई जनाको ज्यान गएको छ । सिउडी र पातलकोट गाविसमा भीरबाट खसेर एक महिला र एक पुरुषको ज्यान गएको हो ।
सिउडी गाविस वडा नम्वर १ निवासी ३८ वर्षीया लालबहादुर कामीको गाँउबाट अवल जाने बेला बाटोमा भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ ७ बजेतिर स्थानीय भट्टेकापानी भन्ने ठाँउमा भीरबाट डेढ सय मिटर तल खसेका बिकको घट्नास्थलमै मृत्यु भएको आफन्त अजित बिकले बताए ।
भीरबाट खसेका कामीको खोजीकार्य गर्ने क्रममा शुक्रबार बिहान १ बजे भीरमा शव फेला परेको स्थानीय भक्त बिकले जानकारी दिएका छन् । स्थानीय कालिका प्राविका पूर्व अध्यक्ष समेत रहेका मृतक कामीका श्रीमती २ छोरा र २ छोरी रहेका छन् ।
पातलकोट गाविस वडा नम्वर ५ निवासी २७ वर्षीया गंगा साउदको घर नजिकैको भीरमा घास काट्ने क्रममा खसेर ज्यान गएको छ ।
बिहीवार बिहान स्थानीय चिलेतिमेलामा घाँस काटन गएकी साउद भीरबाट खसेर गम्भीर घाइते भएपछि स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीय कर्णबहादुर साउदले जानकारी दिए ।
मृतकका २ छोरा र १ छोरी रहेका छन् । उनका श्रीमान् कामको शिलशिलामा भारतमा रहेको स्थानीयले बताए ।












प्रतिक्रिया