– झलक पाली
डोटी, २० फागुन । यहि फाल्गुन २९, ३० र चैत्र १ गते तीन दिनसम्म देशका विभिन्न ३६ जिल्लामा एकसाथ हात्तिपाईले रोग विरुद्ध औषधी खुवाईने भएको छ ।
हात्तिपाईले रोग (फाईलेरिया) निवारण कार्यक्रम २०७२ अन्तरगत सामुहिक रुपमा तीन दिनसम्म औषधी खुवाईन लागेको हो ।
डोटीमा पनि यस वर्ष एक लाख ९७ हजार ९ सय ३६ जनालाई हात्तिपाईले रोगको औषधी खुवाउने लक्ष्य रहेको विहीबार जिल्ला स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको पत्रकारसँगको अभिमूखिकरण कार्यक्रममा जानकारी दिएको छ ।
अभियानका क्रममा जिल्लाभरिका सम्पूर्ण ६ सय ६५ जना महिला स्वयंसेविका र थप ५ सय ६० जना स्वास्थ्य क्षेत्रमा ज्ञान भएका स्वयंसेवक र ३ सय ५४ जना स्वास्थ्यकर्मीहरु परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय डोटीका सिनियर अहेव तथा हात्तिपाईले रोग सम्बन्धी फोकल पर्शन तेजविक्रम शाहीले जानकारी दिए ।
मूख्यतया क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर परिजिवीहरु मानिसको शरीरमा पसेपछि हात्तिपाईले रोग लाग्ने गर्दछ । उच्चेरेरिया बाँक्रोफ्टी, ब्रुजिया मालायी र ब्रुजिया टिमोरी गरि तीन प्रकारका परजिवीहरुका कारण हात्तिपाईले रोग लाग्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक हरिश शाहले बताए ।
नेपालमा उच्चेरेरिया बँक्राफ्ेटीद्वारा मात्र हात्तिपाईले रोग लाग्ने गरेको बताईन्छ ।
झण्डै ४ हजार वर्ष पूरानो मानिएको हात्तीपाईले (फाईलेरिया) रोग विरुद्ध विश्व स्वास्थ्य संगठनले सस्तो र सुरक्षित प्रमाणित गरेका एल्बेण्डाजोल र डाई इथाइल कार्बामाजिन नामक २ प्रकारका औषधीहरु खुवाउने गरिन्छ ।
हात्तिपाईले रोग विरुद्ध औषधी खुवाउने अभियान निरन्तर ६ वर्षसम्म सञ्चालन गरि त्यसपछी मानिसको रक्त परिक्षण गरि सो रोगको अवस्थाबारे पत्ता लगाउने सामूहिक औषधी खुवाईने एक विश्वव्यापी विधि भएको बताईन्छ ।
विश्व स्वास्थ्य संगठनले सन् १९९७ मा यस रोगलाई निको पार्न सकिने ठहर गरे अनुसार वि.सं. २०२० सालदेखि विश्वव्यापी रुपमा औषधी खुवाईन लागेको बताईएको छ ।
नेपालका १४ वटा हिमाली जिल्ला बाहेक ६१ जिल्लामा सन् २००३ देखि हात्तिपाईले रोग विरुद्ध औषधी खुवाईंदै छ भने सुदूरपश्चिमका नौ वटै जिल्लामा चौथो पटक हात्तिपाईले रोगको औषधी खुवाईन लागेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका हेल्थ असिस्टेण्ट टेकराज ओझाले बताए ।
नेपालका ६१ जिल्लामध्ये पनि २० जिल्लामा यो कार्यक्रम सम्पन्न भईसकेको छ ।
यस रोग विरुद्ध औषधी खुवाउनाले असर नपर्ने र सुरक्षित रहेको विश्व स्वास्थ्य संगठनको दावी छ । यद्यपी सामान्य रिंगटा लाग्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने जस्ता समस्या आउन सक्ने र कथंकदाचित जटील समस्या भएमा स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपचारको व्यवस्था मिलाईएको पनि सु.प. क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
यो औषधी २ वर्ष मूनिका बालबालिका, ७० वर्ष माथिका मानिसहरु, गर्भवती, ७ दिनभित्रको सुत्केरी, कडा ज्वरो आएका बिरामी, रोगले थला परेका व्यक्तिहरु, मृगौला, कलेजो, मुटु र फोक्सोका गम्भीर बिरामीहरुलाई खुवाउन नहुने र खुवाउनै परे स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा खुवाईन्छ । सकभर औषधी खाली पेटमा खान नहुने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।
प्राय गर्मी ठाउँमा लामखुट्टेको टोकाईबाट सर्ने समस्याका रुपमा रहेको यस रोगका कारण विश्वमा करिब ६३ प्रतिशत मानिस जोखिममा रहेको बताईएको छ । यदि औषधि नखाएमा हात्तिपाईले रोग मात्रै नभई हाईड्रोसिल समेतको खतरा हुनसक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
पशुपन्छि खोरभित्र र मानिस झुलभित्र रहन सके पनि हात्तिपाईले रोग हटाउन सकिने उत्तम उपायका रुपमा लिईएको छ ।
विश्व स्वास्थ्य संगठनले सो रोग विरुद्धको औषधी सन् २०२० सम्ममा सम्पूर्ण मानिसलाई खुवाईसक्ने लक्ष्य राखेकोमा नेपालले सन् २०१८ भित्र सबै मानिसलाई औषधी खुवाईसक्ने लक्ष्य राखेको छ ।
यस हात्तिपाईले रोगका बिरामीहरुलाई पुनःसर््थापना गर्न नेपालको भक्तपुर जिल्लामा पुनःसर््थापना गृह समेत सञ्चालनमा रहेको छ ।












प्रतिक्रिया