२८ आश्विन २०८३, बुधबार

मेगा बैंक पाँचौ बर्षमा प्रवेश, यस्तो छ उपलब्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-Bank-4th-anniversary2

काठमाडौं, ७ असार । नेपालका चर्चित बैंकर अनिल केशरी शाह सिइओ रहेको मेगा बैंक नेपाल लिमिटेडले बुधबार आफ्नो चौंथो बार्षिकोत्सव मनाएको छ ।

काठमाडौंको कान्तिपथस्थित मेगा महलमा आयोजित विशेष कार्यक्रममा मेगा बैंकका अध्यक्ष प्रा. डा. मदन कुमार दाहालले वितेको बर्षलाई सुनौलो बर्षको संज्ञा दिनुभयो । ‘गत बर्षलाई फर्केर हेर्दा मेगा बैंकका लागि अति नै सुनौलो बर्षका रुपमा मैले पाएको छु । गतबर्ष हामीले हाम्रा प्रबद्र्धक र शेयरधनी महानुभावहरुलाई पहिलोपटक ९ प्रतिशत नगद लाभांश बाँड्न सक्यौं । एउटा संस्था हुर्किएर त्यसको लाभ लिन पाउनु निकै ठूलो गर्वको विषय हुँदोरहेछ, जुन मैले अनुभुति गरेको छु ।, मेगा बैंकका अध्यक्ष प्रा.डा. मदन कुमार दाहाल भन्नुहुन्छ, ‘अझ हामीसँगै खुलेका अन्य बैंक भन्दा हामीले धेरै लाभांश बाँड्न सक्नु हाम्रो उपलब्धिका रुपमा मैले लिएको छु ।’

चार बर्षको छोटो अबधिमा मेगा बैंकले स्वदेश र विदेशमा समेत उच्च छवि बनाउन सफल भएको भन्दै उहाँले भारतको सिक्किम, दार्जीलिङ्ग, देहरादुनबाट शाखा खोल्नका लागि माग आएको बताउनुभयो । ‘प्रतिस्पर्धा र क्षमताको आधारमा देश बाहिर संयुक्त रुपमा मेगा बैंक खोल्ने हाम्रो दीर्घकालिन उद्देश्य हो । युरोप, अमेरिका, जापान जान नसकेपनि हिन्दुस्तानमा संयुक्त साझेदारीमा बैंक खोल्न चाहन्छौं,‘ अध्यक्ष प्रा.डा.दाहालले भन्नुभयो, ‘क्षेत्रीय कार्यालय पनि कमसेकम ४–५ ठाउँमा खोलेर अगाडि बढाउने हामीले सोच बनाएका छौं ।’

अध्यक्ष दाहालले केही पुराना एवं नयाँ बैंकहरुबाट मेगा बैंकसँग मर्जरको निमित्त अनौपचारिक प्रस्तावहरु आएको जानकारी दिनुभयो । ‘मेरो अध्यक्षतामा मर्जर कमिटी गठन भएको छ । हाम्रो मर्जर नीति पनि गतबर्ष पारित भएको छ । मर्जर र एक्विजेशन एउटा प्रक्रिया हो । हामी एक्विजेशनमा पनि जान तयार छौं । हाम्रो शर्त मन्जुर गरेर राम्रो आर्थिक अवस्था भएका वित्तीय संस्थासँग मर्ज गर्ने हाम्रो अवधारणा हो ।’ उहाँले भन्नुभयो ।

‘हलोदेखि हाइड्रोसम्म भन्ने नारा बमोजिम हामीले अघिल्लो आर्थिक बर्षलाई साना मझौला व्यवसाय (एसएमई) र लघुबित्त कार्यक्रममा केन्द्रित ग¥यौं, यो बर्षलाई एसएमई र कर्पोरेट बैकिङबीच खाडल पुर्न ‘मिड कर्पोरेट’ इकाइ खडा गर्न लागेका छौं,’ मेगा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली भन्नुहुन्छ — ‘यसले एसएमई र कर्पोरेट बैंकिङको बीचमा पर्ने ग्राहकवर्गलाई समेट्न सकिने आशा लिएका छौं ।’ निमित्त सिइओ खुञ्जेलीले यस आर्थिक बर्षमा ग्राहकको माग बमोजिम भिसा कार्ड ल्याउन लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार, गत आर्थिक बर्ष सम्ममा मेगा बैंकको १७ अर्ब १५ करोड बरावर निक्षेप संकलन भएको छ भने १४ अर्ब ८७ करोड बरावरको कर्जा प्रवाह भएको छ । यसैगरी, ग्राहक संख्या करिब १ लाख ३० हजार पुगेको छ । कर्जाको औसत आकार १६ लाख र निक्षेपको १ लाख ४३ हजार रहेको छ ।

देशभर २८ वटा शाखा रहेको मेगा बैंकका ३१ वटा एटीएम सञ्जाल छ । देशका ४७ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले ११ सय ५० स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

Mega-Bank-4th-anniversary

सहयोग हस्तान्तरण

वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा गरिएको कार्यक्रममा बैंकले अनाथ तथा असहाय बालबालिका आश्रित काठमाडौंको धापासीस्थित पवित्र समाज सेवा नेपाललाई ९९ हजार ९ सय ९९ रुपैंया नगद सहयोग प्रदान गरेको छ ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष प्रा.डा. मदन कुमार दाहाल र निमित्त प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले पवित्र समाज सेवा नेपालको भवन निमाणार्थ सहयोग रकम हस्तान्तरण गर्नुभयो । काठमाडौंको धापासीमा सञ्चालित पवित्र समाज सेवामा ३२ जना असहाय बालबालिका, महिला तथा बृद्धाहरु आश्रित छन् ।