काठमाडौं, ४ साउन । व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई विगत पाँच वर्षको लेखापरीक्षणको कागजात तीन दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।
समितिको आजको सिंहदरबारमा बसेको बैठकले सङ्घका अध्यक्ष गणेश थापालाई सबै कागजातसहित तोकिएको सयमसीमाभित्र उपस्थित हुन निर्देशन दिएको हो ।
खेलाडीको वृत्ति विकासका लागि कतारले उपलब्ध गराएको एक लाख अमेरिकी डलर अनियमितता भएको र व्यक्तिगत प्रयोजनका लागि खर्च भएको भन्ने गुनासो आम रुपमा आएपछि लेखाले सो विषयमा छानबिन गरेको थियो ।
कतारका फुटबल अधिकारी मोहम्मद विन हमामले पठाएको रकम थापाका छोरा सौरभ थापाको खातामा आएको र सो रकममा व्यापक अनियमितता भएको भन्दै सङ्घका उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले लेखा समितिमा निवेदन दिएका थिए ।
‘आज हामीले पाँच वर्षको सम्पूर्ण कागजात र हिसाब किताब मागेका छौँ, अनियमितता भएको भन्ने सन्दर्भमा व्यापक छानबिन हुन्छ,’ लेखा समितिका सदस्य धनराज गुरुङले भने ।
तर अध्यक्ष थापाले भने हमामले उपलब्ध गराएको रकम व्यापार–व्यवसायका लागि उपलब्ध गराएको दलील पेस गर्दै आएका छन् ।













प्रतिक्रिया