२८ आश्विन २०८३, बुधबार

चियामा भारतीय व्यापारीले दुःख दिएको गुनासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chiya Baganइलाम, १९ वैशाख । भारतीय चिया व्यापारीले नेपाली चियामा सिन्डिकेट लागू गर्न थालेको इलामका चिया किसानले आरोप लगाएका छन् ।

चिया कारखानाले भारतीय व्यापारीको पक्षमा लागेर अग्र्यानिक मापदण्डअनुसारको हरियोपत्तिको उचित मूल्य नपाएको किसानहरूको भनाई छ । भारतीय व्यापारीले गुणस्तर नभएको भन्दै गत सालको भन्दा पनि कम मूल्य निर्धारण गरेर सिन्डिकेट लागू गर्न खोजेको फिक्कलका चिया किसान सोनाम योल्मोले बताए ।

ठूला चिया कारखानामध्ये करिब एकदर्जन कारखाना भारतीय उद्योगपतिको स्वामित्वमा रहने भएपछि किसानले चियाको मूल्य उचित नपाउने योल्मोको भनाइ छ ।

कारखानाले पहिलो सिजनकै टिपाइको चियामा गुणस्तर नभएको भन्दै गतवर्षको यस सिजनको मूल्यभन्दा आधा घटाएपछि अहिले चिया कृषक तथा चिया उत्पादन गर्दै आएको सहकारी चिन्तित बनेका छन् ।

उद्योगपतिले जस्तो पनि चिया लिने अनि गुणस्तरको मापदण्ड कृषकलाई नतोक्दा समस्यामा परेको लक्ष्मीपुर–२ का पदम तामाङले बताए ।

कारखानाले अहिले माईपूर्वका अधिकांश ठूला चिया कारखानामा हरियो पत्तिको मूल्य प्रतिकिलो ३० देखि ४० सम्म निर्धारण गरेको छ । गत वर्ष यही सिजनमा प्रतिकिलो ७० सम्म चिया बिक्री भएको थियो ।