२८ आश्विन २०८३, बुधबार

एमाले महाधिवेशन एक महिना पछि सार्ने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौं । एमालेको नवौं महाधिवेशन निर्धारित मितिभन्दा एक महिना पछि सारिने भएको छ।

पार्टी स्थायी समितिको बिहीबार बसेको बैठकले केन्द्रीय समिति बैठकमा महाधिवेशन एक महिना पछि सार्न अध्यक्ष झलनाथ खनालले प्रस्ताव लैजाने सहमति भएको हो। केन्द्रीय समितिले दुई महिनाअघि फागुन २१ गते आगामी जेठ २४-३१ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको थियो।

स्थायी समितिका एक सदस्यका अनुसार आगामी जेठ २४ गते उद्घाटन गर्ने भनिएको अधिवेशन अब एक महिना पछि सारेर असार २४ गतेका लागि प्रस्ताव गरिनेछ। अधिवेशन सार्ने निर्णय गर्न आगामी सोमबार ११ बजे केन्द्रीय समितिको बैठक डाक्ने निर्णय स्थायी समितिले गरेको छ।

महाधिवेशनमा पेस गर्ने मूल दस्तावेज मस्यौदा समितिका संयोजक अध्यक्ष खनालले राजनीतिक प्रतिवेदनबारे मस्यौदा समितिमा सर्वसम्मति जुटेको जानकारी गराएका थिए। ‘दस्तावेजलाई सबैको सुझाउ समेटेर अन्तिम रूप दिने भन्ने सहमतिसहित बन्द गरिएको छ तर त्यसलाई अन्तिम रूप दिन बाँकी छ’, बैठकमा अध्यक्षको भनाइ उदृत गर्दै सचिव शंकर पोखरेलले भने।

बैठकमा खनालले आगामी मंगलबार राति आफू चीनको १० दिने भ्रमणमा जान लागेको जानकारी पनि बैठकलाई गराएका थिए। खनालले बाँकी एक महिनामा महाधिवेशन गर्न नभ्याइने भएकाले सार्नु उचित हुने बताएका थिए। ‘उहाँले बाँकी समयमा नभ्याइने भएकाले एक महिना सार्नुपर्ने परिस्थितिबारे बताउनुभयो। तपाईंका कुरा केन्द्रीय समितिकै बैठकमा राख्नुस् भनेर त्यसैका लागि बैठक डाक्ने निर्णय भयो’, सचिव पोखरेलले भने।

खनालले हालसम्मको तयारीले महाधिवेशन समयमै गर्न गाह्रो हुने बताएका थिए। उनले नेता केपी ओली पनि अस्वस्थ भएकाले महाधिवेशन सार्नु उचित हुने बताएका थिए। पोखरेलले भने, ‘ओली कमरेडले महाधिवेशन समयमै गर्न सुझाउ दिनुभएको बैठकमा राखिदिएको थिएँ तर अध्यक्षले तयारी गर्न अलि गाह्रो छ भन्नुभयो।’ बैठकमा ओलीबाहेक स्थायी समिति सदस्य भरतमोहन अधिकारी पनि अनुपस्थित थिए।

बैठकमा संगठन विभाग प्रमुख युवराज ज्ञवालीले पनि सदस्यता नवीकरण र त्यसको रुजु गर्ने कार्यमा भएको प्रगतिबारे जानकारी गराएका थिए। उनले ६० भन्दा बढी जिल्लाको सदस्यता नवीकरण गरी पार्टी मुख्यालयमा दर्ता गरिएको र त्यसलाई रुजु गर्ने काम धमाधम भइरहेको जानकारी बैठकमा दिएका थिए। उनले करिब ९० प्रतिशतले नवीकरण गरेको बताएका थिए।

अहिलेसम्म भएको महाधिवेशन तयारीका कामबारे मूल तयारी समितिका संयोजक ईश्वर पोखरेलले जानकारी गराएका थिए। बैठकमा केन्द्रीय समितिले दस्ताबेज पारित गरी छापेर तल्ला समितिमा छलफल गराई त्यहाँबाट आएका सुझाउसमेत समेटेर अन्तिम रूप दिई महाधिवेशनमा लैजान बाँकी एक महिनाको समय अपुग हुनेमा सहमति भएको थियो। सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव तयार हुनै बाँकी रहेको विषयमा पनि बैठकमा छलफल भएको थियो।

उपचुनाउका लागि उम्मेदवार मागियो

एमाले स्थायी समिति बैठकले आगामी असार ८ गते हुने चार क्षेत्रको उपचुनाउका लागि निर्वाचन क्षेत्र र जिल्ला समितिसँग ३-३ जना उम्मेदवारको नाम माग्ने निर्णय गरेको छ। उपचुनाउ हुन लागेका काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलाली ७ का क्षेत्रीय समिति र जिल्ला समितिलाई १० दिनभित्र उम्मेदवार सिफारिस गरी पठाउन भनिएको अन्नपूर्ण पोष्टमा खबर छ ।