१४ कार्तिक २०८३, शनिबार

भट्टराईको नाम हटाइएकोमा विरोध, नेपाल प्रेस युनियन आन्दोलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12622252_910893612313758_4140764526425040438_o (1)काठमाडौं, ७ माघ । नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाम राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानबा हटाउने सरकारी निर्णयविरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईको नाम हटाउने सरकारी निर्णयविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । युनियनले सञ्चार मन्त्रालयले भट्टराईको नाम हटाएर प्रतिष्ठान गठन प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गर्न पत्रकारिताको ईतिहासविरुद्ध हुनेभन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् ।

‘सरकारले प्रतिष्ठानको नाम संशोधन गरी उहाँको नाम हटाए प्रजातन्त्रका धरोहर स्वर्गीय भट्टराईप्रति अपमान हुने मात्र होइन, सिंगो पत्रकार महासंघकै इतिहास मेटिने दिशामा जाने छ भन्ने हाम्रो निष्कर्ष छ । तसर्थ आफ्नै इतिहास र गौरव मेटिने कदम नचाल्न हामी सरकारलाई सचेत गराउन चाहन्छौँ’, सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रेस युनियनका जिल्ला शाखाहरुले बुधबार नै जिल्ला–जिल्लामा विरोधका कार्यक्रम गरेका छन् । प्रेस युनियन काठमाडौं शाखाले सरकारी निर्णयविरुद्ध बुधबार हस्ताक्षर अभियान तथा विरोध सभा आयोजना गरेको छ । विरोध सभामा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं वरिष्ठ पत्रकार हरिहर विरहीले भट्टराईका नाममा सरकारले प्रतिशोध साँध्नु गम्भीर भूल हुने बताए । ‘कृष्णप्रसादको ईतिहास पढ्नुस् । उहाँ लोकतन्त्रवादीको मात्रै नेता होइन वामपन्थीहरुलाई पनि अप्ठेरोमा गुण लगाउने नेता हुनुहुन्थ्यो । उहाँको अपमान गरेर सरकारले आफ्नो सम्मान जोगाउन सक्दैन ।’, विरहीले भने ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झाले भट्टराईको नाम हटाउने निर्णयका विरुद्ध अवज्ञा आन्दोलन गर्नुपर्ने बताए । उनले पत्रकार महासंघको निष्ठा र निष्पक्षतामाथि प्रश्न उठेको आरोप लगाउँदै महासंघले आफ्नो ईतिहास जोगाउन पहल नगरेको बताए ।

वरिष्ठ पत्रकार कबिर राणाले सरकारले लोकतान्त्रिक विचारमाथि नियोजित प्रहारको सुरुवात भट्टराईको नाम हटाएर गरेको भन्दै पत्रकारमात्रै नभएर सबै लोकतन्त्रवादीले आन्दोलन गर्नुपर्ने बताए ।

प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाहले लोकतन्त्रवादी पत्रकारले नै पत्रकार महासंघको गरिमा जोगाइदिएको दावी गर्दै निर्णय फिर्ता नभए महासंघबाट युनियन अलग्गिने चेतावनि दिए ।

लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदर प्रसाद दवाडीले राजनीतिक पूर्वाग्रह राखेर सरकारले पत्रकारिता क्षेत्र कब्जा गर्न खोजेको आरोप लगाउँदै आन्दोलनको विकल्प नभएको बताए । विरोध कार्यक्रममा प्रेस युनियनका सचिव खिला कार्कीले कृष्ण्प्रसाद भट्टराईको नाममा प्रतिष्ठान गठन नभए सरकारविरुद्ध जस्तोसुकै आन्दोलन गर्नपनि पछि नहट्ने बताए । महासंघका पूर्व सचिव रामजी दाहालले भट्टराईलाई महासंघकै विधान र व्यवहारले संस्थापक सभापति मानेको भन्दै सरकारले हस्तक्षेप गर्नु प्रत्युत्पादक हुने चेतावनि दिए ।

प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष नकुल अर्यालले पत्रकार महासंघको ईतिहास तोडमोड गर्न र आमसञ्चार प्रतिष्ठानलाई राजनीतिक भर्तिकेन्द्र बनाउन खोजिएका कारण हस्ताक्षर अभियान र विरोध सभा गरेको बताए । उनले युनियनका आगामि आन्दोलन सरकारी निर्णय र पत्रकार महासंघ विरुद्ध हुने चेतावनि दिए ।
सो क्रममा १ सय बढी पत्रकारहरु हस्ताक्षर अभियानमा सरिक भएका थिए ।

अघिल्लो सरकारले बजेट मार्फत घोषणा गरेको कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठानको नाम परिवर्तन गर्ने निर्णय सञ्चार मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले गरेपनि लोकतन्त्रवादी पत्रकारहरु आन्दोलित भएका हुन् ।