काठमाडौँ, ३० असार । आर्थिक वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी वृद्धि र समग्र आर्थिक सामाजिक विकासको आधारशिला तयार पार्ने बाटो लिएको बजेट कार्यान्वयनमा सबैपक्षको सहयोग आवश्यक रहेको अर्थविद्हरुले धारणा राख्नु भएकोे छ ।
रिपोटर्स क्लबले सोमवार राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा सहभागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पूर्व अर्थमन्त्रीहरु र उद्योगीले नीतिगत पुनरावलोकन गरी लगानीमैत्री वातावरण बनाउने उद्देश्यमा आधारित बजेटको कार्यान्वयनमा सघाउन आग्रह गरेका हुन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. गोविन्द पोखरेलले तुलनात्मक रुपमा दिगो शान्ति आर्थिक समृद्धितर्फ अघि बढेको बजेटको कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउने र सन् २०२२ सम्म संयुक्त राष्ट्र सङ्घद्वारा परिभाषित अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गराउने लक्ष्यतर्फ बजेट उन्मुख भएको स्पष्ट पार्नुभयो ।
निवर्तमान अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आर्थिक वृद्धिदर र मुद्रास्फीतिलाई सही सन्तुलनमा राखी लगानीको वातावरण बनाउने स्पष्ट नीतिसहित आएको बजेट व्यवस्थापिका–संसद्बाट चाँडो पारित भएर कार्यान्वनमा जाने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थराज्यमन्त्री दीपकुमार उपाध्ययले शान्ति र संविधानलाई केन्द्रमा राखेर सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिएको बजेटले सबैलाई आशावादी बनाएको बताउनुभयो ।
त्यसैगरी पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न खोजिएको नीतिगत परिवर्तनले अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
पूर्व अर्थमन्त्री वर्षमान पुनले भने बजेटमा नयाँ कुरा नभएको उल्लेख गर्दै बजेटले भौतिक पूर्वाधारलाई प्राथमिकता दिए पनि मानव श्रमसाधनको विकासको पाटोलाई बिर्सिएको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले लगानीमैत्री वातावरण बनाउनका लागि सरकारले बजेटमार्फत सकारात्मक प्रयास गरेको उल्लेख गर्दै कार्यान्वयनको पक्ष चुनौतीपूर्ण भएको बताउनुभयो ।
उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले पूर्वाधार, जलविद्युत् र कृषिलार्ई विशेष प्राथमिकता दिएर आएको बजेट प्रशंसनीय भए पनि निर्यातलाई प्रवद्र्धन गर्न ठोस कार्यक्रम नआएको बताउनुभयो ।














प्रतिक्रिया