भक्तपुर, २० पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संविधान संशोधनका नाममा मधेसीलाई छुट्टै राज्य र अङ्गीकृत नागरिकलाई वंशज नागरिक सरहको अधिकार दिन नहुने बताउनुभएको छ ।
नगरकोट नगरपालिकाले यहाँ आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताका माझमा’ राष्ट्रव्यापी प्रचार अभियानमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले संविधान संशोधन गर्ने बेला भएको छैन, संशोधनका नाममा अङ्गीकृत नागरिकलाई वंशज नागरिक सरहको अधिकार दिए मधेसवादी दलले मधेसको छुट्टै प्रदेश बनाउने दाबी गर्नुुभयो ।
जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र बनाउन नहुने उल्लेख गर्दै उहाँले बहुमत जनसङ्ख्या तराईमा भएको भन्दै बहुमतको प्रस्ताव मान्नुपर्छ भन्ने आधार गलत भएको बताउनुभयो ।
ठूला दलका नेता विगतमा भारतसँग डराउँदा अहिलेको परिणाम भोग्नुपरेको बताउँदै उहाँले भारतसँग कुनै हालतमा सरकार झुक्न नहुने औँल्याउनुभयो ।
नेपालको प्रशासनमा समेत भारतले हस्तक्षेप गरेको उल्लेख गर्दै उहाँले नेपालका प्रशासनिक क्षेत्रदेखि सुरक्षा निकायमा समेत भारतले कर्मचारी घुसाएको बताउनुभयो ।
अध्यक्ष विजुक्छेले भन्नुभयो– “नेपालको प्रशासनिक क्षेत्रका ठूलाठूला पदमा २२ हजार यस्ता कर्मचारी छन्, जो नेपाल सरकार र भारत सरकार दुवैको तलब खाएर भारतका लागि काम गर्छन् ।”
त्यस्ता कर्मचारीलाई सर्पको सङ्ज्ञा दिँदै उहाँले भन्नुभयो- “हामीले तकियामुनि सर्प राखेर सुतेका छौँ, ती सर्पले जुनसुकै बेला डस्न सक्छ, सचेत हुनुपर्छ ।” रासस












प्रतिक्रिया