
– नरेश केसी
भैरहवा, २० पुस । गत साउन महिनादेखी निरन्तर जारी मधेस आन्दोलन र त्यसको केही महिनापछि भारतले नेपालमा गरेको नाकाबन्दी कयौंकोलागि फलिफाप सिद्ध भएको छ भने कयौंकोलागि अभिसाप जस्तै भएको छ ।
नाकाबन्दी र मधेस आन्दोलनको कारण सतहीमा भन्नुपर्दा धेरैले पीडा सहेका छन् तर यहि कारण धेरै मानिसहरु करोडपति पनि बन्न भ्याएका छन् । नाकाबन्दीको कारण मानिसहरुले कालोबजारीको मार एकातिर खेप्नु परेको छ भने अर्कोतिर उद्योग धन्दा व्यापार व्यवसाय चौपट भएका छन् ।
बडो गज्जबको कुरा त मधेस आन्दोलनका नाइकेहरु पनि आन्दोलनको कारण रातारात लखपति बन्न भ्याएका छन् । जनताको लागि भन्दै निरन्तर चार महिनादेखी आन्दोलन गर्नेहरु र समाजमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको सुरक्षा फौज अहिले सीमा क्षेत्रमा मालामाल भएका छन् ।
सीमा क्षेत्रमा अहिले सुनदेखि नुनसम्मको चोरी तस्करी अत्यन्तै मौलाएको छ । रुपन्देही जिल्लाका विभिन्न नाकाहरुबाट अहिले दिनदहाडै पेट्रोलियम पदार्थको चोरी तस्करी अत्यधिक मौलाएको छ । डिजल र पेट्रोलको खुल्लमखुल्ला चोरी तस्करीलाई प्रहरी प्रशासन र स्थानीय आन्दोलनरत मोर्चाका अगुवाहरुले प्रत्यक्ष साथ दिएको देखिएको छ ।

जिल्लाको मुख्य नाका भैरहवा भन्सार नाकाको आसपासका गल्लीहरुबाट विहान उज्यालो नहुदैं तेल भरिएका मोटरसाइकल र साइकल मात्रै नभएर गाडीहरु ठेलमठेल गर्दै नेपाल भित्रीरहेका हुन्छन् । डिजल पेट्रोलको अबैध कारोबार सीमामा यति मौलाएको छ की सीमा क्षेत्रका स्कुले विद्यार्थीहरु समेत विद्यालय जान छाडेर ग्यालेनमा पेट्रोलियम पदार्थ ओसारपसारमा व्यस्त देखिन्छन् ।

समाचार स्रोतका अनुसार पेट्रोलियम पदार्थको अबैध कारोबारमा पुराना तस्करहरु जति सक्रिय छन् त्यति नै नयांहरु पनि जन्मिएका छन् । मुलुककै दोस्रो ठूलो भन्सार नाका बेलहिया र सो आसपासको क्षेत्रबाट दिलीप गुप्ता, पशुपति कान्दु, सुनिल कान्दु, सन्तोष कान्दु, माइला भन्ने राम बहादुर, यम्लेले दिनदहाडै अबैध कारोबारको नेतृत्व गरिरहेका छन् । उनीहरुले कोटहीमाई मन्दिर आसपासमा ठूला ठूला तेलका गोदाम नै बनाएर राखेका छन् । यता म्युडिहवा नाकामा कबाड कारोबारी अफरोजले तेलको अबैध कारोबारमा वर्चस्व जमाएका छन् । अफरोजले शसस्त्र प्रहरीको डण्डा बेस नजिकै रहेको आफ्नो कबाडको गोदामलाई संकलन केन्द्र बनाएका छन् । पीपरैया केवटलीया नाकाबाट कल्लुको टिमले काम गरेको स्रोतको ठम्माई छ ।

जिल्लाको थुमहवा पिपरहवा नाकाबाट तिवारीबाबाले तेल र सिमेन्टको कारोबार गरिरहेका छन् । चननीघाट नाकाबाट राजेश बानियाले ग्यास र तेलको कारोबार गरिरहेका छन् भने त्रिलोकपुरनाकाबाट हैदर अलिले बोइलर कुखुराको कारोबार गरिरहेका छन् । मर्यादपुर निवासी अलिले गुरबानियामा दर्ता विनाको फर्ममा भारतबाट अबैध रुपमा भित्राइएको कुखुरालाई राख्ने गरेका छन् । भगवानपुरनाकाबाट यादवले सिमेन्टको ठूलो कारोबार गरिरहेका छन् । यादवको अबैध सिमेन्टलाई साइकल मार्फत भैरहवाका विभिन्न ठाऊमा पुराउने गरिएको छ । भारतमा प्रतिबोरा ७ सय ५० रुपैयां पर्ने जेपी सिमेन्ट र प्रतिबोरा ५ सय ३० पर्ने मेट्रो सिमेन्ट भैरहवामा प्रतिबोरा १ सय ५० रुपैयां महंगोमा विक्री हुने गर्दछ । सिमेन्ट क्यारींगवालाले बसन्तपुरदेखी भैरहवा आउने बाइपासको निषेधीत क्षेत्रमा प्रत्येक पटक प्रहरीलाई ५० रुपैया र मैनिहवा चौकीलाई ५० रुपैयां लाइन दिनुपरेको बताउंछन् ।

कालिदह, बोगडीघाट, कदमहवा, खनहवा, बगौली, अमवा, सेमरपानी, मैनिहवा, नाका अहिले तस्करहरुको कब्जामा जस्तै छ । मधेसी मोर्चाको आन्दोलनको कारण प्रहरी प्रशासनले ग्रामिण क्षेत्रमा सुरक्षा गस्ती गर्न सकिरहेको छैन । गाऊ गाऊमा भएका प्रहरी चेकपोस्टहरु आफ्नै कम्पाण्डभित्र सीमित भएका छन् । जसका कारण प्रहरी प्यारालाइसेस जस्तै भएको छ । प्रहरीकै अगाडीबाट ठूलो मात्रामा चोरी तस्करी भईरहेको हुन्छ तर प्रहरी केही गर्न सक्दैन । प्रहरीले चेकजांच गर्न थालेमा मधेसी मोर्चाका नेताहरु मधेसीलाई पहाडिया मनोवृतिका प्रहरीले दुखः दिएको भन्दै नाराबाजी गर्न थाल्ने गर्दछन् । स्रोतका अनुसार मधेसी मोर्चाका स्थानिय नेताहरु नै चोरी तस्करीमा संलग्न रहेको बुझिएको छ । मधेसी मोर्चाका एकजना जिल्ला स्तरीय नेताले नाम नखुलाउने शर्तमा भने, “हाम्रै मोर्चाका नेताहरुले डिजल र पेट्रोल ओसारपसार गरिरहेका छन् । तस्करहरुसंग मिलेर कमाइरहेका छन् । यसविषयमा हाम्रो मोर्चामा गम्भिर छलफल समेत भएको छ ।”
केही समय अगाडी भैरहवा बसन्तपुर बाइपासमा खुल्लमखुल्ला कारोबार भईरहेकोमा अहिले त्यहांबाट स्थानान्तरण भएर डण्डापुलवारी सिता नर्सरीको छेऊमा भईरहेको छ ।
अबैध तेलः प्रहरीको रोचक खेल
एकाविहानै यदि तपाई कोही पनि डण्डा पुल, बेलहिया, पिपरहीया वा जुनसुकै सीमा नाकातर्फ जानुभयो भने त्यहां तपाईलाई तानातान गर्नैको भिड नै हुन्छ । साना साना किशोरवस्थाका बालकदेखी लिएर प्रौढ उमेर समुहका मानिसहरु दाई तेल चाहियो ? कति चाहियो ? मिलाएर दिन्छु, वरजीनल हो । यता आउनुस् । भन्दै तानातान गर्छन ।

सीमा क्षेत्रमा भारतीय नम्बरप्लेटका मोटरसाइकलमा, भारतीय गाडीमा, ठूला ठूला ग्यालेनमा तेल राखेर बेच्नेहरुको धुइरो नै हुन्छ । भैरहवा क्षेत्रमा भवन निर्माणमा भारतीय मजदुरको यसअघिको व्यापक सहभागीता भेटिएकोमा अहिले ती सबै तेल ओसारपसारमा लागेकोले निर्माणको काम समेत प्रभावित भएको छ । यता तस्करहरुले स्थानिय युवाहरुलाई तिनपटक मोटरसाइकलमा तेल ओसारेबापत १ हजार र खाना समेत दिने गरेका छन् ।
दैनिक रेट तलमाथि हुने सीमाको तेलीय बजारमा कारोबार यति बढेको छ की त्यो सीमापारीका पेट्रोल पम्पको तथ्यांकले देखाउंछ । सहज अवस्थामा दैनिक १० टयांकर विक्री हुने सीमापारीका पेट्रोल पम्पमा अहिले त्यसको दोब्बर भएको भारतीय ब्यापारी बताउंछन् । गोरखपुरबाट गाडीमा सिधै नौतनवा सुनौली सम्म तेल आउने गरेको छ । त्यसमा ठूलो गिरोह परिचालित छ ।

पेट्रोल सिधै मोटर वा गाडीबाट निकालेमा प्रतिलिटर १७० देखी २०० सम्म र डिजल १२० देखी १५० सम्म किनबेच हुने गर्दछ । गाडीबाट सिधैं निकाल्दा वरजीनल पाउने विश्वासमा उपभोक्ताले महंगो मूल्य तिरी भारतीय नम्बर प्लेटका गाडीबाट पेट्रोल किन्नलाई तछाडमछाड नै गर्ने गर्दछन् ।
यता प्रहरीले पनि तेल तस्करहरुसंग कतै लाइन त कतै तेलीय लाइन मिलाइरहेको छ । यो सम्वाददाता समाचार संकलनको लागि बुधवार विहानै सीतानर्सरी अगाडीको तेलीय बजारमा पुग्दा बडो गजब देखियो । विहानको करिब ७ बजेतिर जिल्ला ट्राफिक प्रहरी कार्यलय रुपन्देहीको गाडी एकाएक तेलीय बजारमा पुग्यो र रोकियो । त्यहां पुगेर ट्राफिक प्रहरीले सिटी फुक्न थाले । तेलका अबैध कारोबारी ग्यालेन छाडेर भाग्न थाले त्यसैक्रममा प्रहरीले ५, ७ वटा ग्यालेन उठाएर गाडीमा राख्यो अनि भैरहवातिरै फर्कियो ।
त्यसको करिब २ घण्टापछि जिल्ला प्रहरी कार्यलयको गस्ती गाडी त्यसैगरी सोही ठाऊमा पुग्यो । उनीहरु पनि ट्राफिक प्रहरीले झै गरे र केही ग्यालेन उठाएर लगे ।

पछि एकजना तेलकै व्यापारीलाई बुझ्दा थाहां भयो प्रहरीको यो दिनचर्या नै रहेछ । आउने सय डेढ सय लिटर तेल उठाउने अनि जाने । तेल व्यापारीले पनि पैसा दिनुपरेन लाइनको रुपमा तेल दिदा रहेछन् । अर्कोतर्फ शसस्त्रप्रहरीबल एकिकृत जांचचौकी सुरक्षा बेस नौडिहवाले त एक जना घुमुवा नै राखेर तेलवालासंग लाइन नै उठाउने गरेको पाइएको छ ।
प्रहरी प्रशासनको तेलमाथी भईरहेको रोचक खेलको विषयमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालसंग प्रतिक्रिया लिदा उनले यस्तो बताए “हामीले आपुर्ति असहजतालाई ध्यान दिदैं केही सहजता गरेका थियौं । अब यो सब हुदैंन । मैले शसस्त्र र नेपाल प्रहरीलाई स्पष्ट रुपमा निर्देशन दिएको छु । कहिं कतैं अबैध कारोबार भईरहेको छ भने तत्काल जफत गरेर भनसार चलान गर्नुपछ ।

प्रमुख जिल्ला अधिकारी ढकालले यसो भनिरहदा आइतबार सांझ मात्रै ठूलो परिणामा अबैध तेलको भण्डारण गरिराखेको क्षेत्र बेलहियाका एक घरमा आगजानी भएको थियो । सो अगजनीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परेको थियो । आगजानीको कारण पेट्रोलियम पदार्थको लिकेज नै भएको बुझिएको छ, यद्यपी त्यसको विस्तृत विवरण आएको छैन ।
मुलुकमा आपुर्तिको ६० प्रतिशत भाग ओगट्ने सबैभन्दा ठूलो विरगन्ज भन्सार नाका मधेसी मोर्चाले ठप्प पारेपछि दोस्रो ठूलो भन्सार नाकालाई कुनैपनि हालतमा सुचारु गर्नुपर्ने राज्यको बाध्यता रहयो । जसको फलस्वरुप राज्यले सबै उपाय अपनाएर भैरहवा भन्सार नाका जेनतेन चलाईरहयो । स्थानिय प्रशासनले पेट्रोलियम पदार्थको अभाव हुन नदिन भन्दै तेलको अबैध कारोबारलाई आंखा चिम्लीने रणनीति बनायो । प्रशासनले आम उपभोक्तालाई सहज होस् भन्ने हेतुले गरेको अनौपचारिक निर्णयलाई तेल तस्करहरुले मौकामा चौका हानीरहेका छन् ।












प्रतिक्रिया