काठमाडौं, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले तराई मधेसमा दुई प्रदेश बनाउन स्वीकार गरेपनि त्यस विषयमा आफू तत्काल बोल्न नचाहेको बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष चन्दले तराईमा दुई प्रदेश बनाउने भनिए पनि सीमाङ्नका विषयमा आफू नबोल्ने बताउनुभयो । ‘कैलाली, कञ्चनपुर, झापा, मोरङ र सुनसरी कुन जिल्लामा रहने विषय वार्तामा छलफलको क्रममा छ’, उहाँले भन्नुभयो, ‘नो कमेन्ट । यो विषयमा अहिले म बोल्दिन । दुई प्रदेश स्वीकार गरेको हो । तर सीमाङ्कन स्वीकार गरिएको छैन ।’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका राप्रपा अध्यक्ष चन्दले मधेसी मोर्चा वार्तामा लचकताका साथ आउनु पर्ने सुझाव दिनुभयो । ‘मधेसी मोर्चा र सरकार दुबै पक्ष वार्तामा लचकताका साथ आउनु पर्छ । त्यसपछि वार्तामार्फत सबै विवादित विषय टुङ्ग्याउनु पर्छ’, उहाँले भन्नुभयो ।
आफ्ना पुत्र जयन्त चन्द छिट्टै मन्त्री बन्ने अध्यक्ष चन्दको भनाइ थियो । तपाईको छोरा जयन्त चन्दलाई किन मन्त्री बनाउने ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘किन उ मन्त्री बन्नु हुँदैन र ?’
वर्तमान सरकारले राम्रो काम गर्न नसकेको बताउनुभएका अध्यक्ष चन्दले पछिल्लो दिनमा केही सुधारात्मक कार्य गर्दै आएको बताउनुभयो ।
सरकारले भागबण्डाका कारण काम गर्न नसकेको चन्दको आरोप थियो । भूकम्पपीडितलाई दिने रकम सरकारसँग प्रसस्त रहँदा पनि प्राधिकरणका नाममा राहत नदिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
पार्टीको दुई महिनापछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने बताउनुभएका अध्यक्ष चन्दले भन्नुभयो, ‘अहिले हाम्रो पार्टीबाट दीपक बोहरा मन्त्री बन्नुभएको छ । सरकारले राम्रो काम गर्न सकेन भने उहाँलाई फिर्ता बोलाउन सक्छ ।’












प्रतिक्रिया