
– विमल योगी
काठमाडौं, १९ पुस । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीचको वार्ता निष्कर्षविहिन बनेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सहमति जुट्न सकेन् । माग सम्बोधनका लागि कार्यदल बनाएर अघि बढ्ने सरकारको प्रस्ताव मोर्चाले अस्वीकार गरेपछि वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।
वार्ताबारे सञ्चारकर्मीलाई जानकारी दिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले वार्तामा कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका एक एक जना प्रतिनिधी समावेश गरेर माग सम्बोधनका लागि कार्यदल बनाउने सहमति भएको बताउनुभयो । उहाँले भन्नुभयो– भोलीको अर्काे बैठकमा सीमांकन र मोर्चाको ११ बुँदेबारे मागबारे विस्तृत छलफलबाट टुंगोमा पुग्छौं ।’
तर, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदेश त्रिपाठीले कार्यदल बनाउने कुरामा मोर्चाको सहमति नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– उहाँहरुले कार्यदलका लागि आफ्ना मान्छे छनोट गरिसक्नुभएको रहेछ । हामीसँग एक जना सदस्य माग्नुभएको छ । हामीले त्यसै पठाउँदैनौं । कार्यदलमा हाम्रो सहमति छैन् ।
उहाँले आजको वार्तामा सीमाकंन र मोर्चाको ११ बुँदेमा स्पष्ट धारणा नआएको भन्दै कुनै ठोस प्रस्तावविना कसरी वार्ता सफल हुन्छ भन्नुभयो ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री भीमबहादुर रावल, एमाले वरिष्ठ नेता झलनाथ खनाल, काँग्रेसका तर्फबाट पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेता डा मीनेन्द्र रिजाल र एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी थिए ।
त्यस्तै मोर्चाका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका महन्थ ठाकुर, उपाध्यक्ष हृदयश त्रिपाठी, सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश यादवको सहभागिता थियो ।
यसअघि बालुवाटारमै प्रमुख तीन दलको बैठक बसेको थियो ।












प्रतिक्रिया