
– नरेश केसी
भैरहवा, १९ पुस । नेपाल सरकारका मन्त्री दीपक बोहराले सरकारले जे बोल्छ त्यहि गर्ने गरेकोले सरकारप्रति जनविश्वास बढ्दै गएको जनाएका छन् ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीले भैरहवामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै श्रम तथा रोजगार र वाणिज्य मन्त्री बोहराले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको सरकार भएको जनाउदै भने “यो सरकारले जे बोलेको छ त्यहि गरेको छ । हामीले आन्दोलनरत दलहरुलाई वार्तामा बोलाएका छौं । उहांहरुसंग भएका प्रतिबद्धतालाई पुरा गरेका छौं । जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण होस् वा आन्दोलनरत दलसंगको वार्ता सबैलाई जोड दिएका छौं ।”
मन्त्री बोहराले वर्तमान सरकार असाधरण स्थितीमा निर्माण भएको भएतापनि यसले धेरै काम गरेकोले यसको स्थायीत्व भएको समेत दाबी गरे । उनले भने “नाकाबन्दी, बन्द हड्ताल जस्तो असाधरण स्थितीमा पनि यो सरकारले उल्लेखनीय काम गरेको छ । मलाई लाग्छ कोही पनि पार्टी तत्काल सरकारबाट फिर्ता हुनेवाला छैन बरु अन्य पार्टिलाई पनि सरकारमा सहभागी गराउनुपर्दछ ।”
मन्त्री बोहराले आपूर्ति र बाणिज्य मन्त्रालयको स्पष्ट कामको बाडफाड नभएकोले वाणिज्यतर्फ भर्खरै केही काम नभएको जनाए । मन्त्री बोहराले आफूले सम्हालेका श्रम तथा रोजगार र वाणिज्य मन्त्रालयको सय दिने कार्ययोजना केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको जनाउदै मन्त्रालयको काम देखिने गरी गर्ने पनि जनाए । उनले भने “सय दिने कार्ययोजना बनाउन मैले दुबै मन्त्रालयलाई निर्देशन दिएको छु । अब केही दिनमा त्यो सार्वजनिक गर्नेछु ।”
मान्छे झुक्काएर विदेश पठाउने म्यानपावर कम्पनीलाई तत्काल कारबाही गर्ने र कयौं मुलुकसंग नभएको श्रम सम्झौता केही दिनमै गर्ने तयारी भैरहेको पनि मन्त्री बोहराको भनाई थियो । आपूर्ति सहजताको लागि प्रधानमन्त्रीले छिट्टै गर्ने चीन र भारतको भ्रमण फलदायी हुने पनि बताए । उनले भने “चीनसंग पनि विप्पा र स्वतन्त्र पारबाहन सन्धि हुनेछ । जसको कारण नेपालको समुन्द्रसंगको पहूंचमा नयां बाटो खुल्नेछ ।”












प्रतिक्रिया