२८ आश्विन २०८३, बुधबार

पेनाल्टिमा नेदरल्याण्डबिरुद्ध अर्जेन्टिनाको जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

_76164371_023097142-1काठमाडौं, २६ असार । नेदरल्यान्ड्सविरुद्ध भएको सेमिफाइनल पेनाल्टी सुटआउटमा निर्णय हुने अवस्थामा रहेको बेला गोलकिपर सर्जियो रोमेरोले दुई सानदार बचाउ गरेसँगै अर्जेन्टिना फिफा विश्वककप २०१४ को फाइनलमा पुगेको छ ।

यसअघि पहिलो सेमिफाइनलमा आयोजक ब्राजिललाई ७–१ को ऐतिहासिक पराजयको स्वाद चखाउँदै जर्मनी फाइनलमा पुगिसकेको छ । फाइनल विश्वप्रसिद्ध माराकाना स्टेडियममा नेपाली समयअनुसार सोमबार (३० असार) बिहान १२:४५ मा सुरु हुनेछ ।

अर्जेन्टिना २४ वर्षपछि मात्र यसरी फेरि फाइनलमा पुगेको हो । यसअघि सन् १९८६ मा जर्मनीलाई हराएर दोस्रोपटक विश्वकप जितेको अर्जेन्टिना अर्कोपटक पनि डिएगो म्याराडोनाको चमत्कारिक प्रदर्शकसँगै सन् १९९० मा फाइनलमा जर्मनीबाटै पराजित भएको थियो । त्यसपछि अर्जेन्टिना कहिल्यै सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन ।

यसको अर्थ, सन् १९८६ र सन् १९९० मा जस्तै फेरि एकपटक अर्जेन्टिना र जर्मनी विश्वकप फाइनलमा भिड्ने भएका छन् ।

ब्राजिलमा जारी २०औं विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत साओ पाउलोमा बुधबार बिहान भएको दोस्रो सेमिफाइनल निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयसम्म पनि गोलरहित बराबरीमा समाप्त भएपछि पेनाल्टी सुटआउटबाट निर्णय हुनुपर्ने स्थितिमा पुगेको थियो जसमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्यो ।

बडवाइजर म्यान अफ दि म्याच २७ वर्षीय रोमेरोले पहिले डच स्ट्राइकर रोन भिलारको प्रहारलाई असफल तुल्याए भने नेदरल्यान्ड्सका प्रमुख स्ट्राइकर वेज्ली स्नाइडरको प्रहार रोकेर सनसनी मच्चाइदिएका थिए ।

अर्जेन्टिनाका लागि मेसी, एजिक्वेल गाराय, सर्जियो अगुइरो र म्याक्सी रोड्रिगेजले गोल गरे । रोड्रिगेजको प्रहार डच गोलकिपर चिलेसनको हातमा लागेर पनि पोस्टतिर हुत्तिएको थियो ।

दुवै टिम उन्नीस–बीसको अवस्थामा रहेको देखिएको थियो । बल पोजेसनको हिसाबमा पनि डच टोली ५१ प्रतिशत र ‘ला अल्बीसेलेस्टी’ ४९ प्रतिशत थियो । गोल अवसरहरू अत्यन्तै न्यून मात्र निर्माण भएका थिए तर ती पनि जाली छुने प्रहारमा परिणत हुन सकेनन् ।

एक दिनअघि भएको पहिलो सेमिफाइनलमा जस्तो गोलको बाढीको एक छेउ पनि यो दोस्रो सेमिफाइनलमा देखिएन ।

पहिलो हाफमा अर्जेन्टिनाका लागि एउटा राम्रो अवसर डी बक्सको छेउबाटै फ्री किक प्रहारको अवसर थियो जसमा लियोनेल मेसीले हाने प्रहार सीधै डच गोलकिपर ज्यास्पर चिलेसनको हातमा पुगेको थियो ।

हाफटाइम अघि आर्यन रोब्बेनले एउटा मौका पाएका थिए तर त्यसलाई रोमेरोले पञ्च गर्दै मध्यमैदानतिर फर्काइदिएका थिए ।

म्याचको ७५औं मिनेटमा मेसीको पासलाई एन्जो पेरेजले गोन्जालो हिग्वेइनतर्फ बढाएका थिए तर त्यो प्रहारले डच गोलपोस्टको बाहिरी छेउबाट मात्र जाली छुन सक्यो । यस्तै एक अर्को अवसरमा गोल हुन सक्ने अवसर देखिएकोमा हिग्वेइन अफसाइड घोषित भए ।

दोस्रो हाफ पनि सकिन केही मिनेटअघि डच टोलीलाई गोलको सुन्दर अवसर मिलेको थियो । स्नाइडरको सटिक पास पाएर ३० वर्षीय रोब्बेन अर्जेन्टिनी गोलपोस्टतिर दौडिएका थिए । स्थिति झन्डै वान भर्सेज वानको हुन लागेको देखिएको बेला जाभियर मासारानोले दर्शनीय स्लाइडिङ गर्दै रोब्बेनलाई बल पोस्टतिर प्रहार गर्ने मौकै दिएनन् ।

अर्जेन्टिनाले म्याचको सर्वोत्तम अवसर ११५औं मिनेटमा पाएको थिया जतिबेला स्थानापन्न खेलाडी रोड्रिगो पालासियोले डच गोलकिपर चिलेसनलाई अप्ठ्यारो पर्नेगरी सशक्त हेड गर्न सकेका थिएनन् ।

दुवै टोलीका गोलकिपरले निर्धारित र थप अतिरिक्त समयमा विशेष मिहिनेत गर्नु परेन तर पेनाल्टी सुटआउटमा रोमेरोले साओ पाउलोको एरेना कोरिनथियन्स रंगशालामा उपस्थित हजारौं अर्जेन्टिनी समर्थकलाई उत्सवको माहोलमा पुर्याउन निर्णायक भूमिका निर्वाह गरे ।
नेदरल्यान्ड्सले अब तेस्रो स्थानका लागि ब्राजिलविरुद्ध आइतबार बिहान १ः४५ बजे खेल्ने छ । – एजेन्सी