काठमाडौँ, ६ पुस । सरकारले आगामी वर्षदेखि प्रवेशिका परीक्षामा अक्षराङ्क मूल्याङ्कन पद्धति लागू गर्नाले विद्यार्थीमा पढ्ने बानीमा ह्रास आएको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)ले बताएको छ ।
एन प्याब्सनले आज यहाँ पत्रकारसम्मेलन गरी विद्यार्थीले नपढे पनि पास भइन्छ भन्ने गलत मानसिकता विद्यार्थीमा भएको र विद्यार्थी पढ्न छाडेको एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँले बिनापूर्वाधार शिक्षा मन्त्रालयसँगका सरोकारवाला निकायसँग छलफल नगरी अक्षराङ्क मूल्याङ्कन पद्धति लागू गरिएको भन्दै आपत्तिसमेत व्यक्त गर्नुभयो ।
एन प्याब्सनले शैक्षिक सत्रभरिको पढाइ सिकाइ तीन घन्टामा नहुने भएकाले संस्थागत विद्यालयमा लिइने विभिन्न परीक्षाको नतिजाको ५० प्रतिशत र अन्तिम परीक्षाको ५० प्रतिशत जोडी शतप्रतिशत गर्न माग गरेको छ ।
यस्तै विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई लब्धाङ्कपत्रमा उल्लेख गरी विद्यार्थीको व्यक्तित्व र प्रतिभा पहिचान हुने गरी परिणाम जारी गर्न सरकारसँग अनुरोध गरेको छ ।
एन प्याब्सनले आफ्नो संस्थासँग आबद्ध विद्यालयमा अक्षराङ्क मूल्याङ्कन पद्धतिलाई सशक्त बनाउन आगामी माघ १४ देखि ‘प्रवेशिका प्रि–बोर्ड’ परीक्षा सञ्चालन गर्ने भएको छ । रासस














प्रतिक्रिया