१३ कार्तिक २०८३, शुक्रबार

मालिका-कालिका यातायात प्रालिका सञ्चालकमाथि आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapti-Dang– गणेश आचार्य

तुलसीपुर, ६ पुस । तुलसीपुरदेखि काठमाडौ डिलक्स बस सञ्चालन गर्ने तयारीमा रहेको मालिका–कालिका यातायात प्रालिका सञ्चालक समिति सदस्य टोपेन्द्र डाँगीमाथि सांघातिक आक्रमण भएको छ ।

शनिबार राति करिब साढे आठ बजे तुलसीपुरको बिद्युत प्राधिकरण नजिकैबाट डाँगीलाई नियन्त्रणमा लिएर कारागार पछाडि खेतमा लगि मरणासन्न हुनेगरी कुटपिट गरेको मालिका–कालिका यातायात प्रालिले जनाएको छ ।

प्रालिका अध्यक्ष सुमन पोखरेल र महासचिव गेहेन्द्र वलीले विज्ञप्ति जारी गरि रड र ढुङ्गाले डाँगीको टाउको, छाति र दुवै खुट्टामा गम्भीर चोट लागेको र घाइतेको सिटि अस्पताल तुलसीपुरमा उपचार भइरहेको जानकारी दिनुभयो ।

बिज्ञप्तिमा डाँगीलाई ‘तुलसीपुरमा यातायात प्रालि खोलेर हिरो बन्न खोजेको ? नयाँ गाडी चलाउन पाइन्छ जस्तो लागेको छ ?’ भन्दै कुटपिट गरिएको उल्लेख छ । साथै विज्ञप्तिमा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायीले यसअघि नै नयाँ गाडी चल्न नदिने घोषणा गरेकाले आक्रमण कसले गरेको भन्ने बुझ्न कठिन नभएको उल्लेख गरिएको छ । मालिका–कालिका यातायात प्रालिले व्यक्तिगत तथा व्यवसायिक सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग समेत गरेको छ ।

यसैबीच, ईलाका प्रहरी कार्यालय तुलसीपुरले आक्रमणकारीको खोजि भइरहेको जनाएको छ । ईप्रका तुलसीपुरका प्रमुख कृष्ण प्रसाईंले घटनामा संलग्नको खोजतलास भइरहेको बताउनुभयो ।