
– विश्वराज पछल्डङ्ग्या
नेपालगञ्ज, ६ पुस । भे १ त ६२४१ नं. ट्याक्टरका चालक गंगाराम थारुले नदी र खोलाबाट एक ट्रिप गिट्टी, बालुवा वा मोरङ्ग ल्याउँदा ट्राफिक प्रहरीलाई २ सयदेखि ५ सय रुपैयाँ बुझाउँछन् ।
प्रति ट्रिप २ सयदेखि ५ सय रुपैयाँ बुझाउने उनको दैनिकी नै बनिसकेको छ । त्यसैले होला उनी पूर्व–पश्चिम राजमार्ग अन्तरगत अगैया–कोहलपुर सडक खण्डमा खटिएका ट्राफिकलाई बुझाउने रकमको जोहो पहिले नै गर्छन् । उनले ट्राफिक प्रहरीले भनेजति रुपैयाँ बुझाउँछन्, तर रुपैयाँ बुझाएको बिल, भरपाई भने कहिल्यै पाउँदैनन् ।
ट्राफिक प्रहरीले मागेको रकम नदिए झनै समस्यामा पार्ने भएकोले गंगाराम जस्तै धेरै ट्याक्टर चालकले ट्राफिक प्रहरीको विरोध गर्न सक्दैनन् । र, भन्नासाथ कुनै प्रतिरोध नगरेर खुसुक्क पैसा थम्याई दिन्छन् । ‘ट्राफिकलाई अवैध रुपमा रकम बुझाउने हाम्रो रहर होइन, बाध्यता हो,’ ट्याक्टरचालक गंगारामले गम्भिर हुँदै भने ।
ट्राफिक प्रहरीलाई शनिबार मध्यान्ह करिव सवा १२ बजे राजमार्गको ढकेरी–कोहलपुर सडकको बिच जंगलमा रुपैयाँ बुझाएका ट्याक्टर चालक सरोज थारुले भने, ‘ओभर लोड ल्याएको भन्दै बिच जंगलमा बसेका ट्राफिक प्रहरीले रकम लिन्छन् । नदिए बिना कारण अर्कोदिन दुख दिन्छन् ।’
ट्याक्टर चालकले ट्राफिक नियम उलंघन गरेको खण्डमा जरिवाना लिन पाउने ट्राफिक प्रहरीलाई अधिकार छ । जरिवाना बापत लिएको रकमको ट्राफिक प्रहरीले सम्बन्धित सवारी चालकलाई बिल, भरपाई अनिवार्य रुपमा दिनुपर्ने हुन्छ । आफूले तिरेको जरिवाना रकमको बिल, भरपाई पाउने अधिकार जति ट्राफिक प्रहरीलाई छ त्यति नै सवारी चालकलाई पनि छ ।
तर, कोहलपुर–अगैया सडक खण्डमा सवारी साधन नियमन गर्न बसेका ट्राफिक प्रहरीले ट्याक्टर चालहरुबाट अवैध रकम असुली गरिरहेका छन् । बिल माग्दा किन चाहियो भनेर थर्काउने गरेको अर्का ट्याक्टर चालक तिलकराम थारुले बताए ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले पूर्व–पश्चिम राजमार्ग अन्तरगत कोहलपुर–कुसुम सडक खण्डमा ट्राफिक प्रहरी परिचालन गरेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) भोजजङ्ग शाहका अनुसार सवारी साधन नियमन गर्नका लागि महादेवपुरी गाविसको सम्शेरगन्ज र कुसुममा ट्राफिक प्रहरी खटिएका छन् ।
तर, सम्शेरगन्जमा खटिएका ट्राफिक प्रहरी सम्शेरगन्जमा नभई कहिले सम्शेरगन्ज र ढकेरीको बिच जंगलमा त कहिले ढकेरी र कोहलपुरको बिच जंगलमा बसेर ट्याक्टर र सवारी साधनबाट अवैध रुपमा असुली गर्दै आएका छन् । उनीहरु बिच जंगलमा आएर नभई आफ्नो कार्य क्षेत्रमै बसेर जरिवाना लिने र सवारी साधनको नियमन गर्नुपर्ने ट्राफिक प्रहरी उपरीक्षक (एसपी) भोजजङ्ग शाहले बताए ।
आफू मातहतका ट्राफिक प्रहरीले बिच जंगलमा बसेर खुलेआम अवैध रुपमा रकम असुली गर्दासमेत एसपी शाहले यस बारेमा आफूलाई कुनै जानकारी नआएको बताए । जवकी क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयदेखि रकम असुली हुने स्थान ९ किलोमिटर पूर्वमा छ । ‘अवैध रुपमा रकम असुली गरेको भन्ने उजुरी अहिलेसम्म म कहाँ आएको छैन, एसपी शाहले भने, ‘उजुरी आए अवैध रुपमा रकम असुल्ने ट्राफिक प्रहरीलाई कारवाही हुन्छ ।’
राजमार्गको बिच जंगलमा आएर सवारी र मालबाहक साधनसँग रकम असुली गर्न पाइन्छकी पाइदैन ? भन्ने प्रश्नमा गम्भिर रुपमा प्रस्तुत नभएका एसपीले ट्राफिक नियमनका लागि खटिएका प्रहरीले राजमार्गको बिच जंगलमा बसेर रकम असुली गर्न नपाइने स्पष्ट पारे । उनले भने, ‘यस बिषयमा जाँच, बुझ गरी कारवाही प्रक्रिया अगाडी बढाउँछु ।’
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरबाट प्राप्त जानकारी अनुसार सम्शेरगन्जमा प्रहरी सहायक निरीक्षक (असई) आनसिंह भण्डारीको कमाण्डमा ट्राफिक प्रहरी खटिएका छन् । अवैध रुपमा रकम असुली गरेको गुनासोको बारेमा बुझ्न असई भण्डारीको मोबाइल नं. ९८४८७२३३४६ मा कम्तिमा २० पटक फोन गर्दासमेत उठेन ।
भण्डारीको फोन नउठेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको फोन नंं. ०८१–५४०००३ मा फोन गर्दा उक्त कार्यालयमा कार्यरत असईले म फोन गर्न लगाउँछु भन्ने जवाफ दिएका थिए । पछि भण्डारीले फोन गरेर मेरो मातहतका कर्मचारीले गल्ती गरेको भन्दै आगामी दिनमा त्यस्तो गल्ती गर्न नदिने प्रतिवद्धता जनाएका छन् । ‘अहिलेसम्म जे गल्ती भइहाल्यो, अवदेखि हुन्न,’ असई भण्डारीले भने ।














प्रतिक्रिया