इलाम, १८ वैशाख । इलाम सदरमुकाममा पाँच वर्षको अवधिमा करोडौँ मूल्यका ठूला संरचना निर्माण भए पनि त्यसको सञ्चालनमा चुनौती देखिएको छ ।
शीतभण्डार, अस्पताल, क्याम्पस, कारागार, सभागृह, भ्युटावर, पर्यटकीय आकर्षणका पोखरीलगायतका संरचना निर्माण भइसकेका छन् । तीमध्ये शीतभण्डार, क्याम्पस भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण भएका हुन् । बहुप्रतिक्षित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको कच्ची धावनमार्ग बनाउने क्रम जारी छ ।
ठूला संरचना बने पनि सही उपयोग नहुने चिन्ता पनि स्थानीयमा उत्तिकै पलाएको छ । कृषि उपज उत्पादनका लागि अग्रणी रहेको यो जिल्लामा राम्रो बजार पाउने अपेक्षामा दुई वर्षअघि नै शीतभण्डार निर्माण सकिएको हो ।
साढे पाँच करोडको लागतमा इलाम नगरपालिका–३ सेरामा निर्माण भएको शीतभण्डार सञ्चालनमा नआउँदा महत्वपूर्ण मेसिनरी सामग्री बिग्रने खतरामा छन् । समयमै निर्माण सकिए पनि शीतभण्डार ठेक्का लाग्न नसक्दा सञ्चालनमा आउन नसकेको हो ।
नगरपालिका कार्यालयले बारम्बार पत्रपत्रिकामा सूचना जारी गरी टेन्डर आह्वान गरे पनि ठेक्का सम्झौता हुन नसकेको इन्जिनियर दीपक गुरागाईंले बताए ।
पचास शय्याको अस्पतालमा मापदण्डअनुसारको सुविधा थपिएको छैन । भौतिक संरचना निर्माण गरिए पनि अस्पतालमा चिकित्सकको दरबन्दी नहुँदा बिरामीलाई समस्या पर्ने गरेको छ ।
ग्रिनसिटी अभियानमा जुटेसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न चियाबारी क्षेत्रमा झन्डै करोड रूपियाँ खर्चेर बनाइएका दुईवटा पोखरीमा पानी छैन । ६८ लाख खर्चेर निर्माण भएको धोबीधारामा बनाइएको कार्की पार्क र सिलिखानमा निर्मित बिपी पार्क पनि सञ्चालनमा आएका छैनन् । निर्माण पूरा भए पनि ठेक्का नलागेको र निर्माणक्रममै त्रुटि भएकाले ठेक्का लाग्न नसकेको इलाम नगरपालिकाले जनाएको छ ।
शीतभण्डारलाई पुनः मर्मत गरी प्रयोग गर्न योग्य बनाउनका लागि करिब रु ८० लाख बजेट आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । निर्माण भएका भ्युटावर र सभागृहसमेत ठेक्का लाग्न सकेको छैन ।











प्रतिक्रिया